जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित तीन दिनपछि पक्राउ परेका छन् ।
गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकनन्दनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
यता फागुन ५ गते जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरी लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ४ : ५३ बजे
प्रतिक्रिया