प्रदेशको १ नाम ‘कोशी’ मा परिवर्तन हुँदै

विराटनगर । अन्ततः प्रदेश १ को नाम ‘कोशी’ रहने लगभग निश्चित भएको छ । 

आज बस्ने प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी नामकरण गर्ने बुझिएको छ ।

यसका लागि मुख्यतः नेपाली काँग्रेस र नेकपा एमालेबीच भद्र सहमति भए लगत्तै अन्य राजनीतिक दल पनि त्यसमा मन्जुर भएपछि आजै नाम टुङ्गाउन लागेका हुन । 

नामकरणमा विवाद हुने भएपछि सार्वजनिक नगरी एकै पटक नाम तय गर्न लागिएको नेपाली काँग्रेसका एक सांसदले भन्नुभयो।  ‘एमाले र काँग्रेससँग नामकरणको विषयमा सहमति भइसकेको छ, राप्रपाले यसमा विरोध जनाउँदैन, माओवादी नकारात्मक नदेखिएपछि प्रदेश १ ले नाम पाउन लागेको हो,’ उहाँले भन्नुभयो, ‘कुनै त्यस्तो भएन भने आजको बैठकले नै नामकरण टुङ्गाउने छ ।’  

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद रहेका छन् भने ९३ जना सांसद  रहेको प्रदेश १ मा नामकरण टुङ्गो लगाउन ६३ जनाको समर्थन चाहिन्छ ।

पहिलो कार्यकालमा प्रदेश राजधानी टुङ्गाएको प्रदेश १ ले ६ वटा प्रदेशले नामकरण गरिसक्दा पनि यस प्रदेशले भने गर्न सकेको थिएन । आज बस्ने बैठकबाट भने टुङ्गो नै लगाउने गरी तयारी सुरु गरेको छ। 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : २२ बजे