बोलेरो पिकअप र स्कारपियो एकापसमा ठोकिदा सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ३२ बजे