प्रदेश १ मा एमालेको मिसन ग्रासरुट अभियान तीव्र

विराटनगर । नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई प्रदेश १ मा तीव्र रूपमा अघि बढाएको छ ।

प्रदेश १ का १४ वटा जिल्लामध्ये ११ जिल्लामा जिल्ला कमिटीको बैठक बसेर कार्य योजना बनेको छ । मङ्गलवार र बुधवारसम्ममा १४ वटै जिल्लामा बैठक बसेर कार्य योजना बन्ने प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रदेश १ का १३७ पालिकालाई ५२ वटा केन्द्र बनाएर अभियान सुरु गरिएको छ । हरेक केन्द्रको नेतृत्व केन्द्रीय सदस्यले गरेको प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा प्रदेश कमिटीबाट छुट्टै र जिल्ला कमिटीबाट पनि छुट्टै पार्टी नेताहरूको जिम्मेवारी तोकेर पठाइएको छ ।

प्रदेश कमिटी सदस्यलाई भने आफ्नो पालिका बाहेक अर्को पालिकामा खटाइएको छ । 

प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले केन्द्र, प्रदेश र जिल्लाका टोलीहरू पालिकामा गइसकेको जानकारी दिनुभयो । कतिपय जिल्लाका पालिकामा जाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

पालिकाहरूमा बैठक, पार्टी प्रवेश र रचनात्मक कामहरूको सुरुवात भइसकेको बताउँदै उहाँले प्रदेश १ मा पार्टीलाई मजबुत बनाउने गरी अभियान चलाइएको बताउनुभयो । 

फागुन ५ गतेबाट प्रदेशमा सुरु भएको मिसन ग्रासरुट वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : ३१ बजे