अब प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै,७ जनामा खुम्चियो मन्त्रिपरिषद्

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा अब माओवादी र नेपाल जनमत पार्टी मात्रै बाँकी रहेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै माओवादी र जनमत पार्टी मात्रै सरकारमा बाँकी भएका हुन् ।

राष्ट्रपति निर्वाचनको प्रभाव सत्ता समीकरणमा परेको छ । सत्तामा रहेको दल राप्रपा र एमालेले सरकारको समर्थन फिर्ता लिएका छन् भने रास्वपाले सरकारबाट बाहिरिएको छ । अब नयाँ आठ दलीय गठबन्धन बनेको छ । नयाँ गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

नेकपा एमालेले सरकारबाट बाहिरिएको छ । योसँगै सो पार्टीबाट प्रतिनिधित्व गरेका आठ जना मन्त्री सोमबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेका छन् । एमालेबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री बिमला राई पौड्याल, रक्षा मन्त्री हरिराज उप्रेती, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले राजीनामा बुझाएका हुन् ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले राजीनामा बुझाएका छन् । यस्तै, रास्वपा र राप्रपाबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन् । संविधानअनुसार २५ सदस्यीय मन्त्री परिषद् रहने व्यवस्था छ । प्रचण्डको काँधमा १६ मन्त्रालय रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : १५ बजे