काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग आज खेल्दै छ ।
त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रँदै छ । तर, विदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दीप लामिछाने बिनाको यो खेलमा नेपाललाई जीत हासिल गर्न भने निकै सकस हुनेछ । यस अघिका चार वटै खेलमा सन्दीपले कुल ११ विकेट लिएको स्मरण भने दुबईमा गरिनेछ । लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्धपी, लगातार चार खेल जीतेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।
तर, पपुवा न्युगिनीलाई कमजोर भने नेपालले आँक्नु हुँदैन किनभने गत वर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।
यस समूहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक विश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्त्वका साथ हेरिएको छ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अङ्कका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जित्नुपर्ने दबाब छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ८ : २३ बजे
प्रतिक्रिया