काभ्रेपलाञ्चोकका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।  

जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । 

आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ । 

हाल बाँकी रहेका १९ परिवारलाई निर्णयअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले स्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको स्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उहाँले बताउनुभयो । “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दैछौँ”, उहाँले भन्नुभयो । 

काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोग चलन गर्दै आएका थिए । “म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोग चलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु”, मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भन्नुभयो ।  

सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नाप जाँच गरी नक्सा स्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ । 

सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटक पटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : १२ बजे