अन्ततः प्रचण्डले आफ्नो स्वरूप देखाए । अर्थात् उनी नेपाली जनतामाझ फेरी एक पटक राम्रैसँग नाङ्गिए । प्रचण्ड भनेको अस्थिर राजनीतिक पात्र हो ।
जो सत्ता प्राप्तिका लागि गर्न हुने, नहुने जे पनि गर्न तयार हुन्छ । छेपारोले बरु चाँडो –चाँडो रङ फेर्न हच्किएला तर प्रचण्ड हच्किँदैनन्, लजाउँदैनन्, भन्ने प्रमाणित भएको छ । उनी सत्ता समीकरण फेर्न मात्रै होइन, समकालीन नेताहरूमा कुरा फेर्न पनि उनलाई कसैले जित्न वा परास्त गर्न सक्दैन । उनी एउटै विषयमा बिहान, एउटा र दिउँसो अर्को कुरा गर्छन् भन्ने गरिन्थ्यो, त्यो हो रहेछ भन्ने कुरा व्यवहारले देखाइदिएको छ ।
उनले पार्टीलाई नीति ,सिद्धान्तमा होइन, आफ्नो मुडमा हिँडाउँदै आएका छन् । माओवादी केन्द्र पार्टी पार्टीको नीति सिद्धान्तमा होइन, प्रचण्डको सनकमा हिँड्दै आएका कारण झनपछि झन् खिइँदै आएको छ । तीव्र वेगका साथ पार्टीले ओरालो यात्रा समाउँदा पनि प्रचण्डमा त्यसको कुनै वास्ता वा गम्भीरता छैन । माओवादी आन्दोलनमै लागेका कारण धेरै नेता–कार्यकर्ताहरूको स्वदेशमा टिक्न नसकेर विदेश रगत –पसिना बगाइरहेका छन् । देशका आम जनताको त कुरैछोडौ,आफ्नै कार्यकर्ताको व्यवस्थापनमा पनि उनलाई रुचि छैन । उनको रुचि आफूलाई र आफ्नो परिवारलाई व्यवस्थापन गर्न बाहेक अरू गरेको अहिलेसम्म देखिएको छैन । उनी माथि परिवारवादको जुन आरोप लाग्दै आएको छ, त्यो साँचो हो । आफूलाई र परिवारलाई व्यवस्थापन गर्नका लागि विगतमा उनले पार्टी सिद्धान्त विपरीत खेलेका भूमिकाका कारण माओवादीको सम्बन्ध जनताबाट टुट्दै गएको हो ।
यो निर्वाचनमा माओवादी जुन अवस्थामा आइपुगेको छ, यो प्रचण्डकै अस्थिर राजनीतिक चरित्रकै कारण हो । यस पटकको निर्वाचनमा काँग्रेसी मतदाताहरूले ताकि–ताकि माओवादी उम्मेदवारलाई भोट नदिएर घण्टीमा भोट हालेको साँचो हो । काँग्रेसीहरूले माओवादीका उम्मेदवारहरूलाई त्यसरी निर्वाचनमा अपमान गर्दा पनि प्रचण्डलाई काँग्रेस नै किन प्यारो लागेको छ ? बालुवाटारबाट देउवाले रित्तो हात यिनलाई गलहत्त्याएर पठाउँदा पनि फेरी देउवालाई नै फुलमाला लिएर किन हिँडिरहेका छन् यिनी ? यही अस्थिर चरित्र बोकेर कुम हल्लाउँदै उनी हिँडिरहे भने अर्को निर्वाचनमा माओवादी भन्ने पार्टीलाइृ खोज्नु पर्ने निश्चित छ ।
हिजो यिनको नेतृत्वमा भएको जनयुद्ध राज्य शक्ति हत्याउनका लागि मात्रै रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ । आफूलाई व्यक्तिगत राजनीतिक लाभ हुन्छ भनी उनी जे पनि गर्न तयार भएको घट्नाक्रमहरुले पुष्टि गर्दै आएका छन् । हिजो प्रधानमन्त्री नपाउँदा सँगै चुनाव लडेको कांग्रेसलाई धोका दिए । देउवालाई धोका दिएको दुई महिना पनि नपुग्दै विना ठोस राजनीतिक कारण एमालेसँगको सम्बन्ध टुटाए । प्रधानमन्त्रीको कुरा गर्दा कांग्रेसलाई धोका धडी । राष्ट्रपतिको कुरा आउँदा एमालेलाई धोका धडी । विना कुनै ठोस राजनीतिक कारण । दुई महिनामा दुई समीकरण । के सबै यिन खेलेका खेलको जनतालाई जवाफ दिनु पर्दैन ?
देशले अर्थतन्त्रको ओरालो यात्रा समातेको छ । लघुवित्तको आतङ्कले आम मानिसको उठीबास लागेको छ । जनताहरू आफ्नो घर छाडेर हिँड्न बाध्य भइरहेका छन् । यस्तो अवस्थामा देशलाई सुशासन दिने र आर्थिक समृद्धिका लागि काम गर्नु पर्ने सरकारले अनावश्यक अस्थिरता निम्ताउन मिल्छ? फेरी यसबीच के त्यस्तो उल्का भयो, जसले गर्दा प्रचण्डलाई सत्ता समीकरण नै बदल्नु प¥यो ? सत्ता गठबन्धनमा सहभागी अरू दलहरूले के त्यस्तो गरे, जसले गदा उनलाई अर्को बाटो रोज्नु प¥यो? । जिम्मेवार राजनीतिक दलका नेताहरूले कुनै ठोस कारण विना नै गठबन्धन फेर बदल गर्न मिल्छ ? देशलाई अस्थिरता तर्फ धकेल्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डको यो खेलले मुलुकलाई अस्थिर राजनीतिको खेल मैदान बनाउने निश्चित छ । राष्ट्रिय सहमतिको गीत गाउँदै प्रचण्डले सुरुवात गरेको यो अस्थिर राजनीतिको खेलले मुलुकलाई उँभो होइन, उद्योलगाउँने निश्चित छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार २ : ५९ बजे
प्रतिक्रिया