काँग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । 

काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विस्फोट हुँदा घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेता डा भण्डारीको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रवारबाट ठोस खाना खान सुरु गर्नुभएका डा भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गर्नुभएको मीनप्रसादले बताउनुभयो । उहाँलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । 

घटना लगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ३५ बजे