राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपराह्न १२ः३० बजेका लागि बोलाउनुभएको हो ।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भावी राष्ट्रपतिको विषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ । 

राप्रपाभित्र पनि काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परेपछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताउनुभयो । 

उहाँका अनुसार सो पार्टीका नेता पशुपति शमशेर राणा पक्षधर काँग्रेसका उम्मेदवारका पक्षमा उभिने सङ्केत पाएपछि अध्यक्ष लिङ्देनले साझा धारणा बनाउनका लागि बैठक बोलाउनुभयो हो । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २३ बजे