माधव नेपालको नाममा सहमति खोज्न तीन दलले काँग्रेस र एमालेसँग आज छलफल गर्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै नेपाली काँग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् ।

बिहीबार साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपालबीच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न काँग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् । 

माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरूले बताउनुभएको छ । 

‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने  बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीसँग भन्नुभयो, ‘आज अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेन्डाको रूपमा रहनेछ ।’ उहाँका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर काँग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।

नेकपा एसको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । जसअनुसार नेकपा एसले आफ्नो पार्टी (माधव नेपाल)को नाममा सहमति खोज्नका लागि बुधवार साँझ नेकपा माओवादी र जसपाबीच छलफल गरेको हो ।

सो छलफल सकारात्मक भएपछि काँग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ०० बजे