आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

काठमाडाैं । सातदोबाटो युथ क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेकाे छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएकाे उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

सातदोबाटोलाई जिताउन दीपक राज सिंह ठकुरीले २ गोल गरे । पुलिसका प्रविन थापाले १ गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलकाे ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७१ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ । आर्मी र एनआरटीबीचको खेल शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाकाे प्राविधिक सहयाेगमा भएकाे प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।

प्रतियाेगिताकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे थियाे ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : २६ बजे