आत्मनिर्भर लघुवित्तको आजदेखि आइपिओ बिक्री खुला

काठमाडौँ । आत्मनिर्भर लघुवित्तले बिहीबारदेखि आइपिओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गरेको छ । लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अङ्कित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरूका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

उक्त आईपिओमा सर्वसाधारण लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । 

आवेदकहरूले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५८ बजे