स्वास्थ्य मन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

स्विजरल्याड । बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गर्नुभएको छ । 

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवाद दिनुभयो ।

उहाँले विशेष गरी  खोप कार्यक्रम पोलियोलयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृ शिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिनुभयो ।

भेटमा २०७२ सालको भूकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्‍याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गर्नुभयो । 

सो अवसरमा मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।  ।

विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : १३ बजे