यस्तो छ आजको विनिमय दर

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

काठमाडौँ –  पाकिस्तानी राजदूतावासले आज ट्रफी अनावरण समारोहको आयोजना गरेको छ ।

राजदूतावासले नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२३ को आठौं संस्करणको ट्रफी अनावरण समारोहको आयोजना गरेको हो ।प्रतियोगितामा बाह्र टोलीको सहभागीता रहने छ ।

ट्रफी अनावरण समारोहमा नेपालका पूर्व कप्तान पारस खड्का,राष्ट्रिय क्रिकेट टोली र प्रमुख सञ्चारमाध्यमका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो । नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगितामा हरेक वर्ष नेपालका विभिन्न क्लब र एकेडेमीका क्रिकेट टिमहरुले सहभागीता जनाउदै आएका छन् । प्रतियोगिताको आठौं संस्करण फागुन २६ गते (10 मार्च 2023) बाट सुरु हुनेछ।

प्रतियोगिताको उद्देश्य दुबै देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउने र नेपालका युवाहरुलाई खेलकुद गतिविधिमा सहभागी हुन प्रोत्साहित गर्नु हो । नेपालका युवा क्रिकेटरहरूलाई उनीहरूको व्यावसायिकता बढाउनको लागि एउटा प्लेटफर्मको रुपमा यस प्रतियोगितालाई हेरिएको छ ।

कार्यक्रममा पारस खड्काले नेपाली क्रिकेटरहरूलाई सहजीकरण गरेकोमा दूतावासलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चार्ज डी अफेयर (ए.आई.) श्री उमैर अलीले नेपाली युवाहरुमा यस कार्यक्रमको बढ्दो लोकप्रियताप्रति आफुहरु सन्तुष्ट रहेको बताएका छन् । उनले  स्वस्थ समाजका लागि खेलकुदको महत्वलाई जोड दिनु पर्ने बताए । युवा क्रिकेटरहरूको सीपलाई निखार्न र नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्न यस प्रतियोगिताले थप बल पुर्याउने उल्लेख गरे ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ०८ बजे