मोही लागेको जग्गाको स्वामित्व बाँडफाँड प्रक्रिया सुरु

त्रिशूली – नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँडको प्रक्रिया सुरु भएको छ । त्यसको लागी मोहीसंग निवेदन संकलन थालिएको प्रमुख मालपोत अधिकृत होमनाथ सेढाईले जानकारी दिनुभयो ।

उहाँको अनुसार व्यक्तिको नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गा धनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँड गर्न सूचना जारी गरेर निवेदन संकलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वमित्व अन्त्यको लागी सुरु भएको निवेदन संकलन विसंं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ ।

“भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र र गत असोज १० मा जारी भएको राजपत्रको आधारमा निवेदन संकलन थालिएको हो ।” प्रमुख मालपोत अधिकृत सेढाईले भन्नुभयो “गुठी बाहेकका जग्गा (रैकर)को लागी जग्गाधनी व्यक्ति भएको र मोही पनि व्यक्ति भएको जग्गा कानून अनुसार आधाआधा हुने गरेर अलगअलग गराउन मोहीलाई निवेदन दिन सूचना जारी गरिएको छ ।”
जग्गाधनी र मोहीले जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने सरकारको लक्ष्य र जग्गामा रहेको दोहोरो स्वामित्व हटाउने कार्य मोही किसानको लागी महत्वपूर्ण अवसरको रुपमा लिइएको छ । 

“जग्गामा रहेको दोहोरो स्वमित्व अन्त्य गर्न यसभन्दा अघि पटकपटक जग्गा बाँडफाँड भएपनि लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न सकिएको थिएन ।” उहाँले भन्नुभयो “यो अन्तिम पटकको लागी अवसर प्राप्त भएकाले मोही कोही छुटनु हुन्न भनेर वडा कार्यालय मार्फत सबैलाई सूचित गराउन परिपत्र गरिएको छ ।”

प्राप्त भएका निवेदनको कारबाही अघि बढाउदै लागिने मालपोत कार्यालयले जनाएको छ । अन्तिम म्याद विसंं २०८२ चैत मसान्तसम्म तोकिएकाले उक्त अवधिसम्म प्राप्त निवेदनको विसंं २०८३ असार मसान्तसम्म टुङ्गाउनुपर्ने कानूनमा भनिएको छ । उक्त लक्ष्य पूरा भएपछि जमिनमा मोहियानी हक लाग्ने व्यवस्था अन्त्य गरिने सरकारको लक्ष्य छ । 

जग्गाजमिनमा मोहियानी हक लाग्ने व्यवस्था विसंं २०८३ असार मसान्तपछि खारेज गर्ने लक्ष्य अनुसार रैकर जग्गामा लागेको दोहोरो स्वामित्व अनुसार जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँडको लागी दाबी पेशगर्न कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।  
अर्कैको नाममा रहेको जग्गाका लामो समयदेखि खेती गर्दै आएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका किसानको लागी न्याय दिन कानून अनुसार यसअघि नै मोही कायम गरिएको थियो । सोही जग्गालाई सम्बन्धित जग्गाधनी र खेती गर्ने किसानलाई बराबर हुने गरेर बाँडफाँड गराउन लागिएको हो ।

रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ०२ बजे