गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । 

प्रेस चौतारी बैतडीले आइतबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले  सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको बताउनुभएको हो ।

सरकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउँदै उहाँले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने  महत्त्वपूर्ण निर्णय भएको दाबी गर्नुभयो । 

नेकपा(एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका मन्त्री भण्डारीले  सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र  वाणिज्य नीतिमा केही परिमार्जन गरिने उद्घोष गर्नुभयो । उहाँले उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने जानकारी दिनुभयो । 

उहाँले नेपाल–भारत सीमा नाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको जनाउनुभयो । बैतडीमा रहेका खानीहरूको पहिचान गरी ती खानीहरूको उत्खनन गरिने भण्डारीको भनाइ छ । पाटनमा  ११ महिनादेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताउनुभयो ।

सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गर्नुभयो । मन्त्री भएपश्चात् पहिलोपटक गृह जिल्ला पुग्नुभएका भण्डारीलाई  स्वागत र सम्मान गरिएको छ ।
 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ०३ बजे