नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा 

काठमाडौँ ।  कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट  प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारबाट रिहा हुनुभएको छ। 

कैलाली कारागारमा थुनामा रहनुभएका सांसद चौधरी आज रिहा हुनुभएको हो ।  जिल्ला कारागार कैलालीमा रहनुभएका उहाँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाउनुभएसँगै आज रिहा हुनुभएको हो।

उहाँसहित कैलाली जिल्ला कारागारबाट चार जना रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिनुभएको थियो । 

रिहा भए लगत्तै उहाँको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुग्नुभएको थियो।  

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर उहाँले कैद भुक्तान गर्नुभएको थिएन ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ११ : ०१ बजे