नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै

काठमाडौँ । कैलाली कारागारमा रहनुभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिएपछि रिहा हुनुहुने भएको छ ।

आइतबार अर्थात्  फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरुण चौधरीलाई समेत समावेश गरेपछि उहाँलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको हो। सजाय मिनाहा भएसँगै उहाँ रिहा हुनुहुने भएको छ  । 

राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा हुने भएको हो । 

नागरिक उन्मुक्तिका सचेतक समेत रहनुभएका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उहाँलाई ९ वर्षअघि भएको ट्याक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्दाका कारण उहाँलाई प्रतिनिधिसभा निर्वाचित भएपछि पक्राउ गरी थुनिएको थियो । 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ८ : ५३ बजे