आज महाशिवरात्रि पर्व : भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । हिन्दु धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भगवान् शिवको पूजा आराधना गरी मनाइँदै छ ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

व्रतमा सर्वोत्तम व्रतका रूपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । 

आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिव लिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । 

पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरूबाट सयौँको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ । 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ५१ बजे