काठमाडौँ । पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ ।
आज शनिवार परेको महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।
शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
पत्रकार, स्वयंसेवक बाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।
सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ता चप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरूप झिलिमिली बनाइएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ७ : ४८ बजे
प्रतिक्रिया