देशभरको मौसम सफा रहने पूर्वानुमान

मौन अवधि सुरु, के गर्न पाइँदैन

नेपालको खराब ब्याटिङ,रोहित पौडेल पनि आउट

काठमाडाैँ । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध अहिले भइरहेको खेलमा २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल लगातार विकेट गुमाएर संकटमा परेको छ ।

८.१ ओभरमा नेपालले चौथो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई ६ रनमा गुमाएको हो । नेपाली ब्याटरले स्कटल्यान्डविरुद्ध राम्रो खेल्न सकेको छैन । नेपालले एकपछि अर्को विकेट गुमाइरहेको छ ।

यसअघि कुशल भुर्तेलसँगै ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा आशिफ शेखलाई पनि गुमापछि दबाबमा आएको थियो । आशिफले ९ रन बनाएका थिए । यसअघि नेपालका ओपनर कुशल भुर्तेल १६ रनमा आउट भएका थिए । उनले आठ बलमा चार चौका प्रहार गर्दै उत्कृष्ट पहिलो ओभरमा उत्कृष्ट सुरुआत दिलाएका थिए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल चार रनमा आउट भए । स्कटल्यान्डका क्रिस सोलले २.१ ओभरमा कुशल र २.४ ओभरमा ज्ञानेन्द्रलाई आउट गरेका थिए । क्रिसले ४.४ ओभरमा आशिफलाई पनि आउट गराउँदै तीन विकेट लिए । स्कटल्यान्डका मार्क वाटले एक विकेट लिए ।

९ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा ६४ रन बनाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : १० बजे