साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कहाँ चुक्यो लघुवित्त कम्पनीको कारोबार ?

लघुवित्तको कारोबार नेपालमा जुनबेला सुरु भयो त्यो बेला यसको बारेमा सबैतिर प्रशंसा नै थियो, कुनै टिप्पणी थिएन । बरु, चर्को व्याजमा पैसा लगाउन पल्केकाहरूले यसको खिसिट्याउरी गरेका थिए । त्यो समयमा यो काम निकै प्रगतिशील थियो र यसको सदुपयोग हुँदा आज पनि प्रगतिशील नै छ । 

मलाई सम्झना भएसम्म २०५० साल तिर निर्धन उत्थान सामाजिक संस्थाले रुपन्देहीबाट लघुवित्तको कारोबार सुरु गरेको हो र यसको सुरुवात नेपाल राष्ट्र बैङ्कका पूर्व कर्मचारी हरिहरदेव पन्थले गर्नु भएको हो । सुरुमा समूह बनाएर २०÷२५ हजारसम्म एक जनालाई समूह जमानीमा कर्जा लगानी गरिन्थ्यो । आर्थिक, सामाजिक र वित्तीय पहुँच न्यून भएका मानिसका लागि सानो कर्जा, उधारो, सापट पाउनु सजिलो कुरा छदै थिएन । पैसा भएकाले पत्याउने र दिने अवस्था नै हुनुन्थ्यो । 

यस्ता गरिबले पैसा ऋण नै नपाउने र पाइहालेमा तिर्न सक्छन् र तिर्छन् भन्ने मान्यता नै समाजमा नभएको अवस्थामा लघुवित्तको सोच आएको हो । यस्तो कर्जा लिनेसँग कुनै प्रकारको धितो नहुने भएकाले विना धितो नै कर्जा दिने नीति हो । अर्थात् समूह बनाएर समूहलाई नै जिम्मेवार बनाएर, समूह जमानीमा कर्जा दिने नीति बनाएको हो । यो नीति  र कामले लाखौँलाखलाई फाइदा पुगेको छ । यो एक प्रकारको आर्थिक र सामाजिक आन्दोलन हो । अभियान हो । 

लघुवित्तका कम्पनीहरूले समूह बनाउने, सानो सानो कर्जा लगानी गर्ने, धेरै जनासँग कारोबार गर्नुपर्ने, गाउँ गाउँमा जानुपर्ने, वित्तीय साक्षरताका कार्यक्रम चलाउनुपर्ने, वित्तीय अनुशासनका कुरा सिकाउनुपर्ने, ऋणीसँग भलाकुसारी एवं संवाद गर्नुपर्ने, फिल्डमै गएर असुली एवं लगानी गर्नुपर्ने आदि कारणले लागत बढी पर्ने हुनाले अलि बढी व्याज लिने छुट यस्ता कम्पनीलाई हुन्छ । 

लघुवित्तको समूहमा सामेल भएर कर्जा लिनेका लागि कर्जाको व्याज अलि महँगो भए पनि त्यसका फाइदा पनि थिए र छन् । त्यसैले त्यो बेला र आज पनि यसका बारेमा कुनै गुनासो थिएन र छैन । एक प्रकारले त्यो समयमा यो गाउँघरमा चलेको चार पाँच रुपियाँ मासिक ब्याजको तुलनामा प्रगतिशील थियो । यसका अनेक कारण छन् । त्यस मध्येका केही फाइदा यस्ता छन् । 
​​​​​​​१) महिलालाई कर्जा लगानी गर्नु, 
२) बिना धितो लगानी गर्नु 
३) गाउँका साहूको भन्दा सस्तोमा लगानी गर्नु 
४) साहुकोबाट ऋण लिए बापत साहुको थिचो मिचो सहनु नपर्ने 
५) महिला सशक्तीकरणमा सहयोग पुगेको 
६) वित्तीय साक्षरता र वित्तीय अनुशासनमा बढोत्तरी भएको, 
७) महिला र परिवारले गर्ने साना व्यवसायमा सहयोग पुगेको 
८) परिवारमा महिलाको कुरा बिक्ने गरेको, कुरा सुनिन थालेको 
९) महिलाको सामाजिक पहुँचमा वृद्धि भएको 
१०) महिलाको नेतृत्व विकास भएको 
११) बचत गर्ने बानीको विकास भएको 
१२) स्वास्थ्य र शिक्षामा पहुँच बढेको आदि । 

यी र यस्ता अनेकन् उपलब्धि लघुवित्तको कारण गाउँ गाउँमा पुगेको थियो र छन् । 

समस्या कहाँबाट सुरु भयो ? 
जब लघुवित्तहरूले धर्म बिर्सिए र कमाउने धन्दामा मात्रै लागे त्यसपछि समस्या सुरु भएको हो । लघुवित्तको धर्म कमजोर आर्थिक अवस्था भएका विशेष गरी महिलालाई समूहमा सङ्गठित गर लघु उद्यम र व्यवसायमा जोड, अनुशासित बनाऊ, तालिम देऊ, वित्तीय साक्षरता सिकाऊ, वित्तीय अनुशासन सिकाऊ र धितो नभएकालाई पनि सानोतिनो कर्जा दिएर उद्यमी बनाऊ भनेको हो । यसमा अलिकति बढी लागत लाग्ने हुँदा अलि बढी व्याज लिन छुट दिएको हो । तर यो अलि बढी व्याज लिन छुट लिएको विषयलाई कमाउन छुट लिएको अवसरको रूपमा प्रयोग गरेर धेरैभन्दा धेरै समूह र सदस्य बनाउने, धेरैभन्दा धेरै लगानी गर्ने, एउटै मानिसलाई धेरैले सदस्य बनाउने, व्याजको लोभमा जानीजानी थपमाथि थप कर्जा दिने, न वित्तीय साक्षरता, न परिस्थितिको मूल्याङ्कन, न वित्तीय अनुशासन, न व्यवसाय । गोठमा भएको एउटा भैँसी देखाएर पाँच सात वटा लघुवित्तले लगानी गरेपछि, टाट्नामा भएका चार वटा बाख्रा देखाएर सात आठ वटा लघुवित्तबाट ऋण लिने, एउटाबाट लिने अर्कोलाई तिर्ने । यसो गर्दा केही समय त समस्या सर्ला तर समस्या टर्दैन । 

वित्तीय साक्षरताको ख्याल नगर्ने, अर्को समूहमा बसे नबसेको नहेर्ने, अरू संस्थाबाट ऋण लिए नलिएको थाहा पाए पनि थाहा नपाए जस्तो गर्ने, उद्यमशीलता र व्यवसायका कुरा नसिकाउने, घर व्यवहारमा पर्न सक्ने समस्याका कुरा नसुन्ने तर घरको छानो उक्काएर भए पनि किस्ता तिर्नै पर्ने बाध्यतामा धकेल्ने मात्रै काम गरेपछि समस्या खप्टिँदै जाने नै भयो । 

ऋण लिनेले समूहमा बसेर ऋण लिने तर कसरी तिर्ने ?, के आम्दानीले तिर्ने ?, आम्दानी र खर्चको सन्तुलन कसरी मिलाउने भनेर नसोच्ने ? पाइन्छ भन्दैमा व्याज कमाउने धुनमा लगानी गर्न आएका साहूको ऋण नसोची नसम्झी लिने गर्दा ऋणको बोझ थाम्न नसकी एक पछि अर्को समस्यामा भासिँदै गएका लघुवित्तका समूहका सदस्यहरूले समयमा सम्हालिन एवं सोच्न र पैसाको सदुपयोग गर्न नजान्दा कतिपयले आत्महत्या गर्नुपरेको, कतिले थातथलो छाडेर हिँड्नुपरेको दयनीय अवस्था यथार्थ हो । 

खोलामा, पोखरीमा वा धारामा गएर पुरै एक डल्लो साबुन खर्चेर नुहाएर सफा भएर आएको मानिसको शरीरमा भएका दुलादुली तिर औँला घुसारेर नाकमा पुर्‍याउने हो भने त्यहाँ गन्हाउने गन्ध आउँछ । त्यसैलाई यो मानिस गन्हाउँछ भन्नु हुँदैन । अझ मानिस सबै गन्हाउँछ भन्नु त हुँदै हुँदैन । लघुवित्तमा समस्या नभएको होइन तर गाउँघर सहर तिरका मिटर ब्याजीले मानिसको उठीबास लगाएको कुरा ओझेलमा पारेर एकोहोरो लघुवित्त, बैङ्क, वित्तीय संस्था र सहकारी तिर मात्रै खनिने हो भने त्यसले दिने नतिजा के हुन्छ ? यो पनि सोचनीय छ । 

लघुवित्तले शेयर धनीलाई दश प्रतिशतभन्दा बढी नाफा वितरण गर्न पाउँदैन भन्ने नीति मात्रै बनाउँदा पनि यो खालको अस्वस्थ प्रतिस्पर्धा तुरुन्तै रोकिन्छ । एउटा संस्थाले सेवा दिइरहेको समूहलाई त्यो संस्था वा कम्पनी परित्याग नगरेसम्म अर्कोले समूहमा आबद्ध गर्न र सेवा दिन नपाउने नियम बनाउने र बनाएको पाइएमा पछिल्लो पटक सदस्य बनाउनेको कर्जा जोखिममा परे लगानी गर्ने कम्पनी वा संस्था स्वयं जबाफदेही हुने भन्ने नियम बनाए मात्रै पनि यो होडबाजीमा समूह बनाउने र ओभरल्याप हुने समस्या समाधान हुन्छ । 

लघुवित्त चाहिन्छ, प्रतिस्पर्धा हुनुपर्छ तर स्वच्छ र मर्यादित । यसलाई मर्यादित बनाउन पहिला यसलाई दर्ता र नियमन गर्ने निकाय जिम्मेवार बन्नुपर्छ, दोस्रोमा लघुवित्त कम्पनी र संस्थाहरू आफै जिम्मेवार र जबाफदेही बन्नुपर्छ । जिम्मेवारी पुरा नगर्ने र जसरी पनि कमाउने धुनमा रहेकाको लाइसेन्स खारेज गर्न कन्जुस्याइँ गर्नुहुन्न । ऋण पाइन्छ भन्दैमा विना सोचविचार ऋण लिने, सदुपयोग नगर्ने, ऋणमाथि ऋण थप्पै जाने, ऋण जीवि र आन्दोलन जीविको पछि लागेर हिँड्नेले आफूलाई सुधार्नुपर्छ । यिनले आफूलाई बरबाद गर्दै छन् र सन्तान एवं समाजलाई पनि बरबाद गर्दै छन् ।  

मानौँ यस्ता आन्दोलन जीविको पछि लागेर ठुलै आन्दोलन भएछ । आन्दोलन सफल भएछ । त्यसपछि कसैले बैङ्क, सहकारी, लघुवित्त, वित्तीय संस्था आदिको पैसा तिर्नु नपर्ने भएछ । त्यसो भयो भने के हुन्छ ? बैङ्कमा पैसा राख्ने मानिस धेरै छन् कि बैङ्कको ऋण चलाउने मानिस धेरै छन् ? लघुवित्त कम्पनीले बैङ्कबाट ऋण लिएका छन् । ठुला ठुला उद्योगी, व्यापारी, व्यवसायी, जग्गाका व्यापारी सबैले बैङ्कबाट ऋण लिएका छन् । उनीहरूले बैङ्कको ऋण तिर्नु परेन, तिरेनन् भने त्यसको सोझो असर बैङ्कमा निक्षेप राख्ने बचत कर्ताहरूमा पर्छ । बैङ्कले आम मानिसबाट र सहकारीहरूले सदस्यबाट बचत (निक्षेप) सङ्कलन गर्छ । लघुवित्त कम्पनीहरूले त खासै निक्षेप सङ्कलन गर्दैनन् । उनीहरूले बैङ्कबाट कर्जा लिएर समूह बनाएर विना धितो लगानी गर्ने हुन् । ऋणीले ऋण तिरेनन् भने अन्ततः डुब्ने भनेको बैङ्क होइन बैङ्क तथा सहकारीमा बचत अर्थात् निक्षेप गर्ने आम मानिस वा सदस्य डुब्ने हुन् । बैङ्क, सहकारी र लघुवित्त कम्पनी भनेका मध्यस्थकर्ता मात्रै हुन् । सरकारले कानुन बनाएर र नेपाल राष्ट्र बैङ्कले नियम बनाएर यस्ता कम्पनी र संस्थाको नियमन गर्ने हो । 

कुनै दिन यस्तो पनि आउन सक्छ बैङ्क तथा सहकारीमा पैसा जम्मा गर्नेहरू सङ्गठित भएर, एक ठाउँमा भेला भएर बैङ्क र सहकारीको पैसा दुरुपयोग गर्नेहरूका विरुद्ध जाइलाग्ने अवस्था पनि त आउन सक्छ । त्यस्तो दिन आए हुने अराजकताले कस्तो अवस्था निम्त्याउला ? त्यसैले सरकारले बैङ्क जोगाउनुपर्छ, सहकारी जोगाउनुपर्छ । अर्थ व्यवस्था जोगाउनुपर्छ । 

अहिले बैङ्कको ब्याजदर बढेको कारण व्यवसायीहरू सडकमा आउन बाध्य भएका छन् । किनकि कर्जा लिँदाको ब्याजदर लगभग ४०/५० प्रतिशतले बढेको छ । यसले व्यवसायको लागत बढेको छ । व्यवसाय टिक्न नसक्ने भयो । यो भयावह स्थिति हो । अब बैङ्क र सहकारी आफै सडकमा आउनुपर्ने अवस्था आएको छ । किनकि उसको निक्षेपको लागत बढेको छ । सहकारीहरू त सडकमा आइनै सके । धेरै सहकारीहरू धरापमा पर्दैछन् । भोलि बैङ्क पनि धरापमा नपर्लान् भन्न सकिँदैन । त्यसैले, निक्षेपको ब्याजदरमा क्याप लगाउन जरुरी छ । कर्जाको ब्याजदरमा क्याप लाउन जरुरी छ । सरकार र नेपाल राष्ट्र बैङ्कले यसतर्फ गम्भीर भएर एक्सन लिन जरुरी भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०६ बजे