भारतीय नागरिक प्रतिबन्धित नोटसहित पक्राउ

काठमाडौं – प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ५९ बजे