आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अनेरास्ववियुको महाधिवेशन : सहमति नभए नयाँ नेतृत्वका लागि आज मनोनयन र मतदान

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । 

लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको अनेरास्ववियुले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । 

त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले मङ्गलवार नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसक्नुभएको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खडका, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहनुभएको छ । 

अनेरास्ववियुको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र उपाध्यक्ष मोती विक र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ ।

“निः शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन, स्ववियु निर्वाचन हाम्रो सरोकार”, भन्ने मूल नारासहित अनेरास्ववियुको  २३ औँ राष्ट्रिय महाधिवेशनको मङ्गलवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसक्नुभएको छ   । 

महाधिवेशनमा सहभागी हुन देशभरिबाट १हजार ८० जना प्रतिनिधि आएका छन् । 

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उहाँका अनुसार जारी महाधिवेशनले १ सय ९९ सदस्सीय केन्द्रीय समिति तथा तीन वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् । 

उहाँका अनुसार सहमतीयबाट आज नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : २१ बजे