सत्तामा गा’सी सज्जन पनि उल्झनमा पर्दछन्
फटाहा, दुष्ट, भ्रष्ट र नीचको मुठ्ठीमा फस्दछन्
दैत्यको हाडखोर पर्यो कि कतै प्रासादको जगमा
पर्यो कि क्या हो भूतको छायाँ मन्त्रीको कुर्सीमा
प्रबुद्ध मानिस सोमती हुन्छन् अहँ ति मात्दैनन्
पटमूर्खहरु उत्ताउला हुन्छन् ती लाजै मान्दैनन्
हण्डर र ठक्कर जे खाए पनि महसुर हार्दैनन्
जनताका खातिर राज गर्नेहरु दुखमा भाग्दैनन्
जो आउँछ भुइँमा लिएर जन्म युगको आव्हानमा
अमर त्यहि हुन्छ दिएर चक्मा राष्ट्रको स्वार्थमा
देशको लागि केहि गर्छु भन्ने कहाँ ति पापिन्छन्
अमूल्य सौगात पाए नि लाखौँ नहेरी त्याग्दिन्छन्
दुस्थिति भा नि राजनेताहरु त्यसै काँ हच्किन्छन्
जनताको काम गर्नलाई फेरि जनतामै फर्किन्छन्
निस्वार्थ मनका देशभक्त जति उचाइमा पुग्दछन्
घुस्याहा, ढोंगी, अधम र छली रछानमा खस्दछन्
निमुखै भा नि हाम्रै हो देश यो, इतिहास बोकेको
पौरखी शूरवीर खलकका दममा लम्किन खोजेको
जन्म्यौं यहि ठाउँमा भाग्यले गर्दा उ जन्मतिरको
बनाऔं यहि देश स्वर्ग झैं सुन्दर पुर्खाले सिर्जेको
प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १ : ४२ बजे
प्रतिक्रिया