निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गराउन आजैबाट काम सुरु गर्ने

काठमाडौँ । चितवन–२ मा आगामी १० फागुन गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ ।  

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेर आजदेखि नै काम सुरु गरेको हो ।

आयोगले सार्वजनिक गरेको तालिका अनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावलीमा अद्यावधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

त्यसको भोलिपल्ट अर्थात् २१ चैतमा उम्मेदवारको मनोनयन माथि विरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।  

उम्मेदवारको नामावली सार्वजनिक गरेको भोलिपल्ट अर्थात् २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  

गत साता सर्वोच्च अदालतको संवैधानिक इजलासले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उहाँको सांसद पद खारेज गरिदिएपछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले आगामी १० वैशाख गते उपनिर्वाचन गर्ने आइतबार मात्र निर्णय गरेको हो । 

अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालीन उपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेले नेपाल फर्केपछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो । 

आइतबार बिहान मात्रै सरकारबाट बाहिरिएको तथा सरकारलाई समर्थन भने कायमै राखेको रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरू संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घण्टापछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्वजनिक गरेको हो ।  

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : २७ बजे