नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका 

काठमाडौँ । नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउनुहुने भएको छ । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका विदेश सचिव क्वात्राले आफ्नो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायतसँग भेटघाट गर्नुहुनेछ। आज र भोलि उहाँले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ । 

आज बिहान १०ः३० मा काठमाडौँ उत्रने भारतीय  विदेश सचिव क्ववात्रा नेपाल भारत सचिव स्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुनेछ । सो छलफलपछि परराष्ट्र सचिव पौडेलले उहाँको सम्मानमा आयोजना गरिएको ‘लन्च’ कार्यक्रममा सहभागी हुनुहुनेछ  । परराष्ट्र सचिवले दिनुभएको लन्चपछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग द्वि–पक्षीय भेटघाट गर्नुहुनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण कार्यक्रम रहेको छ । आज नै उहाँले नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उहाँ त्यसका लागि बालकोट जानुहुनेछ । 

विदेश सचिव क्ववत्राले मङ्गलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नुहुनेछ । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी उहाँ स्वदेश फर्कने कार्यक्रम तय भएको बताइएको छ ।  

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ३० बजे