सेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिनमै सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा सेयर बजार बन्द भएको हो । 

आइतबार बजारका सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचकमा ४.७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै यसको असर सेयर बजारमा परेको हो। गत शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो। त्यसपछि पहिलोपल्ट खुलेको सेयर बजारमा ठूलो गिरावट आएको हो। मौद्रिक नीतिले बैंक ब्याजदरसँगै सेयर धितो (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा खारेजीको विषयमा कुनै निर्णय नगरेपछि लगानीकर्ता निराश बन्न पुगेका हुन्।

बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ । 

आइतबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार हुँदा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । नेप्सेमा करिब ३ प्रतिशतको गिरावट हुँदा पनि ८ कम्पनीको सेयरमूल्य भने बढेको छ । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : ३३ बजे