बैंकविरुद्ध उद्योगी व्यवसायीहरुले फागुन ५ बाट संयुक्त सडक आन्दोलन गर्ने

काठमाडौँ । पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध उद्योगी व्यवसायीहरुले फागुन ५ गतेबाट संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गतेबाट उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।  उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए ।

संयोजक कटुवालले सडक आन्दोलन शान्तिपूर्ण हुने बताउँदै फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताए । फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने र बैंकिङ कारोबार समेत बन्द गराउने बताए । राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनीसमेत दिए ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ,ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिने छन् भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  २ : १५ बजे