राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

​​​​​​​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

आइतबार युवराज सफलले निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदा नै कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको भन्दै   निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । रास्वपको केन्द्रीय समितिमा २० जना मात्रै भएकाले उक्त अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको भन्दै निवेदनमा उल्लेख छ ।

न्यूनतम मापदण्ड पुरा नगरी पार्टी दर्ता भएको हुनाले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न समेत माग गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : २० बजे