सहसचिवलाई बरण्डामा राखेर उपसचिव खटाउने व्यवस्था हटाउन सामान्य प्रशासन मन्त्रालयले गर्‍यो पत्राचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासन भित्र सुधार गर्नका लागि थप कदम चालेको छ । सिनियर कर्मचारीलाई बरन्डामा थन्क्याउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासन भित्र विकृति देखिएको ठहर गर्दै मन्त्री अमनलाल मोदीले यस्तो अवस्थाको अन्त्य गर्न पहल गरेका हुन् ।

मन्त्री मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दी अनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्री मोदीको निर्देशन अनुसार सामान्य प्रशासन मन्त्रालयले आइतबार नै अन्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवहरूलाई शक्तिको आडामा काममा लगाउने पाइएपछि आइतबार सामान्य प्रशासन मन्त्रालयले ७ दिन भित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउने पत्राचार गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले आइतबार पत्राचार गर्दै भनेका छन्, ‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाइएको पाइएको हुँदा यो परिपत्र जारी भएको मितिले ७ दिन भित्र स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउने, यदि स्वीकृत दरबन्दी भन्दा मुनिको कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने र माथिल्लो तहको कर्मचारी आवश्यक नपर्ने हो भने दरबन्दी पुनर्संरचनाको प्रक्रिया अघि बढाई सो को जानकारी गराउने ।

सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको मन्त्रालयको ठहर छ ।

मन्त्री मोदीले निजामती सेवा ऐनको व्यवस्था अनुसार न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  २ : ३३ बजे