आज फेब्रुअरी ११ अर्थात् विज्ञान र प्रविधिमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस हो । सन् २०११ को मार्च १४ विज्ञान र प्रविधिमा महिलाहरूको अवस्था सम्बन्धी अध्ययन गर्न बनेको संयुक्त राष्ट्रसङ्घको आयोगले महिलाहरूको शिक्षा, तालिम, आविष्कार तथा विज्ञान र प्रविधिमा पहुँच र समान सहभागिता हुन अति आवश्यक छ, भनी यसको पच्पनौँ सेसनमा सहमतिका साथ प्रस्ताव पारित गरिएको थियो ।
यसलाई संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् २०१३ को २० डिसेम्बरमा विकास प्रक्रियाको लागि विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा महिलाहरूको संलग्नता हुन अति आवश्यक छ । जसले उनीहरूको पूर्ण रूपमा रोजगारी र सम्मानजनक कामको प्रत्याभूत गर्दछ र सबै उमेर समूहका महिला तथा किशोरीहरूलाई लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्राप्त गर्न बल पुर्याउँछ भन्ने निचोडलाई मान्यता दिएको थियो । यसैलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यसको प्रस्ताव नम्बर A/RES/70/212 लाई अगाडि बढाउन फेब्रुअरी ११ लाई विज्ञान र प्रविधिमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषण गरेको हो ।
यस पश्चात् दिगो विकाशका लक्ष्यहरू प्राप्तिका लागि विज्ञान र प्रविधिमा महिलाहरूको पहुँच हुन अति आवश्यक छ भनी प्रचार प्रसार तथा चेतना जागरण गर्ने उद्देश्यका साथ यो दिवसलाई विश्वभरि विभिन्न कार्यक्रमकारसाथ मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घले पनि यसका सदस्य राष्ट्रहरूलाई, आफू मातहतका संस्थाहरू, निजी सङ्घसंस्था, समुदायहरू, नागरिक समाज तथा व्यक्तिहरूलाई यसको लागि चेतनामूलक तथा शिक्षा प्रदत्त कामहरूमा लाग्नको लागि आव्हान गरेका छ । यसरी मनाउँदै गर्दा यस वर्षको (२०२३) नारा आविष्कार, प्रदर्शन, प्रवर्धन र विकाश : “दिगो र समतामूलक विकाशको लागि सबै समुदायहरूलाई प्रोत्साहित गरौँ ” भन्ने रहेको छ ।
विज्ञान र प्रविधिमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसमा यो वर्ष पहिलो पटक एक यस्तो सभाको आयोजना पनि गरिएको छ जसले समाजमा रहेका यस्ता समुदायहरू दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नमा अग्रस्थानमा रहेका छन्, यसलाई गहिरो अध्ययन र मूल्याङ्कन गरी उनीहरूले खेलेका महत्त्वपूर्ण भूमिका तथा योगदानलाई मान्यता तथा कदर गर्ने अभिप्राय राखेको छ । दिगो विकासका लक्ष्य ६ जसले सफा पानी र स्वास्थ्ययताको कुरा गर्दछ, लक्ष्य ७ ले सफा र किन्न सकिने इन्धनको पर्याप्तताको कुरा गर्दछ, लक्ष्य ९ ले आविष्कार र भौतिक संरचनाको कुरा गर्दछ, भने लक्ष्य ११ ले दिगो सहरी विकाश र समुदायको कुरालाई जोड दिएको छ ।
यस्ता समुदायमा भएका मुख्य सरोकारवालाहरूसँगको एउटा भेलाको आयोजना गरी बृहत् छलफलको पनि आयोजना गरिएको छ जसमा दिगो विकासका लक्ष्यहरूलाई द्रुत गतिमा कार्यान्वयनमा ल्याउनको लागि सकारात्मक÷उत्तम वातावरण सृजना गर्न लक्ष्य १७ लाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । विज्ञानमा महिला पहुँचको आठौँ सभाले अन्तर्राष्ट्रिय समुदाय र विज्ञानमा तथा प्रविधिमा महिला सम्बन्धी सवाललाई जोडने प्रयत्न गर्न खोजेको छ । समुदायको ज्ञान र सीपलाई प्रभावकारी रूपमा लागू गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहज बाटो पहिचान गर्दै, यसमा युवा, विषय विज्ञ तथा विभिन्न सरोकारवालाहरूसँगको छलफलबाट यस्तो विधि, साधन र वातावरणको जानकारी गरिनेछ जसले विज्ञान, आविष्कार, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक तथा निजी क्षेत्रका रणनीतिहरू र तीनका कार्यान्वयन पक्षहरूलाई लक्ष्य प्राप्तिको मुटुको रूपमा मान्ने छ । यसले सबै तहका नीति निर्माण कर्ताहरू चाहे त्यो सार्वजनिक तथा निजी क्षेत्र किन नहोस् उनीहरूको विज्ञान, नीति निर्माण र समुदायको रणनीतिको लागि राम्रो सम्बन्ध बन्न सकोस् जसले भविष्यको लागि प्रतिबद्धता गर्न सक्नेछ भन्ने उद्देश्य लिएको छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी प्राथमिकताका साथ मनाउन आवश्यक रहेको छ ।
लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको सदैव प्रमुख तथा भित्री सवालको रूपमा रहेको छ । लैङ्गिक समानता र महिला सशक्तीकरणले विश्वको अर्थतन्त्रलाई राम्रो बनाउने काममा योगदान पुर्याउने मात्र होइन कि ,दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछन् । विश्वको जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरूले लैङ्गिक समानता जुन मानव अधिकारका आधारभूत आवश्यकताको क्षेत्रभित्र पर्दछ र यसको प्राप्ति बिना शान्तिपूर्ण समाज, दिगो विकाश र पूर्ण मानव संसाधन पूरा गर्न कठिन देखिन्छ । विज्ञान र प्रविधिमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसहरूले विज्ञान, अनुसन्धान, आविष्कार र प्रविधिमा महिला पहुँचको महत्त्वलाई उठाउने तथा सम्मान गर्ने मात्र होइन कि यो दिवसले संसारका महिलाहरूको यी क्षेत्रहरूमा पहुँच र संलग्नताको सवाललाई पनि त्यतिकै रूपमा उठाउने गरेको छ । संयुक्त राष्ट्रसङ्घले अझै पनि विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा विश्वभरिका महिलाहरूको पहुँच र संलग्नता कम भएको महसुस गर्दै आगामी दिनहरूमा यसलाई अझ सशक्त बनाउन आव्हान गरेको छ । विभिन्न देशहरूको आँकडालाई हेर्ने हो भने पहिलेको तुलनामा हालका दिनहरूमा महिलाहरूले उच्च शिक्षामा ठुलो फड्को मारेको देखिन्छ तापनि विज्ञान, प्रविधि,गणित तथा इन्जिनियरिङ क्षेत्रका सबै तहहरूमा विश्वभरि नै महिलाहरूको उपस्थिति न्यून रहेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घको आँकडा अनुसार हालसम्म यो जम्मा ३३ प्रतिशत देखिन्छ जुन मोटामोटी युरोपियन युनियनको आँकडाको नजिक जस्तो देखिन्छ । वास्तवमा महिलाहरूले नै दिगो विकासको लागि चाहिने वातावरणीय,आर्थिक तथा सामाजिक परिवर्तन ल्याउन उत्प्रेरकको भूमिका खेलेका हुन्छन् तथापि शिक्षा, स्वास्थ्य, वित्तजस्ता क्षेत्रहरूमा पहुँच नहुनु उनीहरूले सामना गर्नु परेको एउटा गम्भीर चुनौती रहेको छ ।
नेपालमा २०७२ सालमा जारी भएको नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागिता मूलक सिद्धान्त अनुरूप विभेदरहित, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने आधार तयार गरेको छ । यद्यपि नेपालको ग्रामीण समाज भने अनेकौँ प्रकारका अन्धविश्वास, कुरीति, र कुसंस्कारको जालोमा जेलिएको छ । त्यस प्रकारका अन्धविश्वास, कुरीति, र कुसंस्कारको जालोबाट सबैभन्दा धेरै महिलाहरू नै प्रभावित र प्रताडित छन् । यसरी जीवनकाल भरी उपेक्षित भएर अरूको अधीनमा बस्नु र बाँच्नु पर्दा महिलाको इच्छा,आकाङ्क्षा,सीप,जाँगर भावना र क्षमताहरू दब्न जान्छन् र उनीहरूमा अन्तर्निहित ज्ञान, सीप,क्षमता प्रस्फुट हुने अवसर नपाएर कुण्ठित हुन पुग्दछन् । छोरीहरूलाई पढाउन पर्दैन भन्ने समाजमा आज समय परिवर्तनसँगै केही सुधार त भएको छ तर गरिबी, अनपढ समाज, अशिक्षित अभिभावक, बाल्यावस्थाको शिक्षाको आधार कमजोर भएका कारण ग्रामीण क्षेत्रका बालबालिकाहरूले माथिल्लो तहसम्म पढ्न पाउने उपर्युक्त वातावरण अझ बनिसकेको छैन । बल्लतल्ल पढ्न पाए पनि विज्ञान,गणित तथा अङ्ग्रेजीको आधार धेरै कमजोर भएका कारण विज्ञान तथा प्राविधिक शिक्षामा जानेको सङ्ख्या न्यून रहेको छ । ग्रामीण क्षेत्रका अभिभावक छोरीको लागि शिक्षा दिन भन्दा जतिसक्दो चाडै विवाह गरी अरूको जिम्मा लगाउन पाएमा आफूलाई गौरवशाली ठान्दछन् ।यस्तो खालको सामाजिक परिवेशले समाज र राष्ट्र विकासको गतिमा अवरोध खडा भएको छ ।
सहरी क्षेत्रका केही कर्मचारी तथा आर्थिक अवस्था अलि राम्रो भएका परिवारमा दुई सन्तान मात्र बनाउने र अङ्ग्रेजीको आधार राम्रो बनाउने साथै कक्षा १२ सम्म विज्ञान विषयलाई अलि स्थान दिइएको केही दशक हुन थालेको छ । महिलाहरू सृजनाका खम्बा, उत्प्रेरणाका श्रोत तथा समाज परिवर्तनका संवाहक हुन् उनीहरूले अवसर पाएमा जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट काम गरेर देखाउन सक्षम छन् भन्ने कुराको प्रमाण खोज्न टाढा जानु पर्दैन । केही दशक यता स्वदेशमा भएका केही विज्ञान र प्राविधिक विद्यालय तथा क्याम्पसहरूमा महिलाहरूको उपस्थिति राम्रो मात्र होइन महिलाहरू नै उत्कृष्ट अङ्क ल्याउनेमा परेको देखिन्छ । हालका दिनहरूमा नेपालमा भौतिक शास्त्र, र रसायनशास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, भूगर्भ शास्त्र , इन्जिनियर, पाइलट, फरेष्टर, डाक्टर, नर्स, कृषि विज्ञ तथा अन्य प्राविधिक क्षेत्रमा महिलाहरूको उपस्थिति राम्रो बन्दै गरेको देखिन्छ । तर यहाँको राजनीतिक अस्थिरता तथा सुशासनको अभावमा देश भित्र काम गर्ने उपर्युक्त वातावरण नभएको हुँदा धेरैजसो युवाहरू विदेश जाने प्रचलन बढेको देखिन्छ । विडम्बना विगत एक दुई दशक यताको रेकर्डलाई हेर्दा शिक्षित युवाहरू उच्च शिक्षाको खोजीमा विकसित देशहरूमा पलाएन भएको र विदेशमा नै स्थापित हुने गरेको विकराल अवस्था सिर्जना भएको छ । नेपालका विश्व विद्यालयहरूका सबै सङ्कायहरूमा उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या वर्षैपिच्छे घट्दो क्रममा रहेको छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रको लागि विज्ञान र प्राविधिक जनशक्तिको आवश्यकता अपरिहार्य छ । दिगो विकाशका लक्ष्य प्राप्तिको लागि मात्र होइन अन्धविश्वास, कुरीति, र कुसंस्कारको जालोमा रुमलिएको समाजलाई रूपान्तरण गर्नको लागि पनि शिक्षित तथा चलनशील महिला पुरुष दुवैको संलग्नताको जरुरी छ ।
आजको विज्ञान र प्रविधिको युगमा हाम्रो समाज अन्धविश्वास र रुढीवादी परम्परालाई निरन्तरता दिइएको देखिन्छ । यसले समाज तथा विकाशका लक्ष्यहरूलाई कतातिर लैजाँदै छ भन्ने चुनौतीको विषय बन्न पुगेको छ । शिक्षित युवा युवतिहरू अमेरिका,अष्ट्रेलिया तथा क्यानडा लगाएका विकसित देशहरूमा जाने नागरिकता लिने नेपालमा विवाह व्रतबन्ध, पास्नी, गुन्योचोलो जस्ता कार्यक्रम गर्न आउने र समाजमा तडकभडक देखाएर भोजभतेर गर्ने परम्पराले व्यापकता पाएको देखिन्छ । हुन त यस्ता कार्यक्रमले आर्थिक लाभ राष्ट्रलाई हुनुपर्ने हो तर नेपालमा उत्पादित वस्तुहरूको प्रयोग त्यहाँ भएको देखिँदैन । अत्यधिक मात्रमा गरगहना, महँगा कपडा, शृङ्गारका सामानको प्रयोग भइरहेको छ जुन नेपालका उत्पादन होइनन् । छिमेकी राष्ट्रबाट आयातित वस्तु तथा सेवाहरूको प्रयोगले त झन् राज्यले व्यापार घाटा व्यहोर्नु परेको देखिन्छ । अझ आजभोलि त नेपालको रीतिरिवाज र परम्परालाई बिर्सेर छिमेकी राष्ट्रको रीतिरिवाज र परम्परालाई भित्राइँदै छ जुन धेरै खर्चिलो र तडकभडक युक्त छ ।
विज्ञान तथा प्रविधिमा फड्को मारेका देशमा गएर त्यहाँको प्रविधि, ज्ञान, सीप, अनुभवलाई आफ्नो देशमा भित्राउने, विकासोन्मुख देशलाई दिगो विकाशका लक्ष्य प्राप्तिका लागि कसरी अगाडि बढाउने, नेपालीहरूको जीवनशैलीलाई प्रविधितर्फ उन्मुख गराउने तथा महिलामा निहित क्षमतालाई विज्ञान तथा प्रविधिमा कसरी लैजाने भनेर काम गर्ने समय आएको छ । विडम्बना आजभोलि विज्ञानमा उच्च शिक्षा हासिल गर्ने, प्रशासनिक तथा राजनीतिक ओहोदामा पुग्न अवसर पाएका महिलाहरू पनि गरगहना, श्रृङ्गगारपटार, महँगा कपडा तथा अन्धविश्वास र रूढिवाद तिर आकर्षित भएका देखिन्छ । विज्ञान शिक्षिका, कर्मचारी महिला, डाक्टर तथा प्राविधिक क्षेत्रमा काम गर्ने महिलाहरूले समेत नछुनी भएको भनेर आफ्ना छोरीहरूलाई भान्सामा पस्न मनाही गर्ने परम्परा यथावतै देखिन्छ ।
श्रावण महिनामा हरियो र पहेँला चुरा पोते,हरिया कपडा लगाएर श्रीमानको दीर्घायुको कामना गर्ने प्रथाले विगत एक दशक यता व्यापकता पाएको छ । विज्ञान विषय पास गर्नको लागि र अवसरहरू प्राप्तिका लागि मात्र भएको छ, व्यवहार भने विज्ञानमा आधारित भएको देखिँदैन । बिग्रँदो विश्व वातावरण, जलवायु परिवर्तन तथा जैविक विविधताको विनाशले ल्याएका चुनौतीहरूको कसरी सामना गर्ने, आफूलाई कसरी अनूकलित गर्ने र बहन क्षमतामा वृद्धि गर्ने भन्ने विषयमा बहस गर्ने समय आएको छ तर नेपाली समुदाय अन्धविश्वासको चगुलमा फसेर मृत्युपश्चात् स्वर्गको बाटो बनाउनमा तल्लीन भएको देखिन्छ ।
विविधतामा पनि एकतामा रहेको नेपाली समुदायलाई विगत केही दशकयता विभिन्न बहानामा खण्डीकृत गरी पश्चिमा संस्कृति तिर मोडिँदै छ । विदेशी पहिरन, खाना, विद्युतीय सामाग्रीहरूको उपयोग, सामाजिक सञ्जालका साथमा विदेशको कमाइमा रमेको नेपाली समाजलाई हेर्दा यसको प्रभाव सबैभन्दा धेरै महिलाहरू माथि परेको देखिन्छ । हालको अवस्थालाई हेर्ने हो भने युवा अवस्थाको ऊर्जावान् पुरुष तथा महिलाहरू समेत वैदेशिक रोजगारीका लागि गाउँबाट बाहिरिएको र देशभित्रै रहेका महिलाहरू पनि उत्पादन विमुख भइरहेको अवस्था छ ।
छिमेकी राष्ट्रबाट कृषि उपजहरू सहजै र तुलनात्मक रूपमा सस्तोमा उपलब्ध हुने हुँदा नेपालमा कृषि पेसा जर्जर अवस्थामा पुगेको हुनुपर्दछ । नेपालमा उद्यमशीलताको स्थापना गर्न सकिने धेरै प्राकृतिक श्रोत र साधनहरू छन् जसको परिचालन गर्न सकेमा रोजगारीको सृजना गरी पुरुष तथा महिला सबैले आत्मनिर्भर हुन सकिने अवस्था रहेको छ । व्यावसायिक कृषि प्रणाली अपनाउने वातावरणको सृजना गर्न सकेमा गाउँ छाडेर बाहिर जान नसकेको समूहलाई राहत पुग्नका साथै उर्वर जमिनमा हरियाली ल्याउन सकिन्छ अन्यथा सहर बजार बासीहरू छिमेकी राष्ट्रको विषादीयुक्त खाद्यान्नमा निर्भर हुनुपर्ने हुनेछ । विज्ञान र प्रविधिमा आधारित उत्पादनमुखी समाजले मात्र आर्थिक उन्नति र प्रगति गरी समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । महिला शिक्षित र परिश्रमी भएमा परिवार नै स्वस्थ र समृद्ध बन्न पुग्दछ जसबाट सिङ्गो समाज र राष्ट्र नै विकासको पथमा लम्कन सक्दछ ।
यस्तो समाजले सामाजिक,राजनीतिक,सांस्कृतिक आर्थिक लगायतका बहुआयामिक विकाशका लागि पूर्वाधारहरू निर्माण गर्दछ र विभेद रहित, हिंसामुक्त समाजको निर्माणको ढोका खोल्दछ । आजको दिनहरूमा विज्ञान र प्रविधिमा महिलाहरूको पहुँच पुर्याउन पुरुषहरूको साथ सहयोगको पनि उत्तिकै महत्त्व रहन्छ र उनीहरूलाई अवसरहरू दिइनुका साथै योगदानको कदर गर्नु पनि अपरिहार्य रहेको देखिन्छ ।
महिलाहरूलाई विज्ञान र प्रविधिका विविध पक्षहरूमा अग्रसर बनाउन सकेमा परिवार, समाज तथा राष्ट्रको दिगो विकासद्वारा प्रगतिशील रूपान्तरण सम्भव छ । यसैको लागि यस प्रकारका दिवसहरू वर्षैपिच्छे विभिन्न नाराका साथ मनाउने गरिन्छ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको सवैमा हार्दिक शुभकामना !
प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १० : ३१ बजे
प्रतिक्रिया