मेरो माइतीघर नै हुँदैन कि ?
मेरा माइती नै हुँदैन कि भनी तिमी चिन्तित हुन्छौ।
छोरा पाई दम्भ पालेका आफन्तसँग
आफ्नी छोरीको माइती भइदिने आशा राख्छौ।।
हर कदममा छोरा हुँदो हो त तिम्री छोरी ’चेली’ हुने थिइन्,
तिमी यही कल्पना गर्छौ ।
मलाई थाहा छ, छोराछोरा भन्ने तिम्रो बाध्यता हो,
तिमी मलाई औधी माया गर्छौ ।
यो पितृसत्तात्मक सोचले जकडिएको
सामाजिक संस्कृतिको परिवेशमा।
तिमी मेरै लागि दाइ–भाइको कामना गर्छौ
सामाजिक बीमाको चाहनामा।।
दोष म तिमीलाई दिन्नँ
हर रीतिरिवाज, हरेक चाडबाड र पूजा–आजामा दाजु–भाइ खोज्छन्।
तर, समाजले के बिर्सिन्छ भने
चेली भएका दाजुभाइ मात्र माइती बन्छन् ।
त्यसैले लाग्छ,
धर्म–संस्कृतिभन्दा पनि पितृसत्तात्मक सोचले
छोरालाई अपरिहार्य र छोरीलाई अपहेलित बनाएको छ।
यथार्थ दृष्टिले हेर्दा संस्कृतिले
छोराछोरी, दाजुभाइ, दिदीबहिनीको उत्तिकै महत्त्व दर्शाएको छ ।
मेरा प्रिय आमाबुवा !
मेरो चिन्ता गर्न छोड।
को अघि, को पछि जान्छ
तिम्रो निर्धक्क मुस्कानबाट मलाई बञ्चित नगर ।
बुढेसकालको सहारा छोरा त हो
सामाजिक लिबासको मान्यतालाई नै अकाट्य सत्य ठान्छौँ ।
विकसित शताब्दीको समाजमा निधो गर्ने स्वविवेकले हो
“छोरा”वा “छोरी”ले होइन, यो त तिमी मान्छौँ ?
यदि ढुङ्गा माटोले बनेको घर माइती हो भने
यो सारा धर्ती मेरो माइतीघर ।
तिमीले दिएको दीक्षामा हुर्किएको म
मेरो कर्ममा र तिम्रो संस्कारमा विश्वास गर ।
मैले यस कर्मयात्रामा कमाएका इष्टमित्र
सबै मेरा माइती।
अनि खुल्ला आकाशको छत भएको
मेरो माइती–घर क्षितिजको सिमानासम्मको धर्ती ।
तिमी मेरो पीर नगर,
को अघि, को पछि जान्छ
तिम्रो निर्धक्क मुस्कानबाट
मलाई वन्चित नगर !
(रचनाकार मदन भण्डारी फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ ।)
प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ८ : ३२ बजे
प्रतिक्रिया