राजमार्गमा दृष्य एक, पीडा अनेक

अर्थतन्त्रको अवस्था आत्तिइहाल्नुपर्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको छ । 

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग सङ्घको २३ औँ वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको शुक्रवार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले निजी क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयो । 

अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै उहाँले सरकार, निजी क्षेत्र र आम नागरिकहरूका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गर्नुभयो । उहाँले यस्तो भन्यो भनेर आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको पनि बताउनुभयो । विगतको अनुभवका आधारहरू र अहिलेको परिस्थितिबारे सूक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरूलाई अघि बढाएको पनि उहाँले बताउनुभयो ।  

अर्थमन्त्री पौडेलले अहिलेको सरकारको मुख्य उद्देश्यको रूपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको बताउनुभयो।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासङ्घले पनि साना तथा मझौला उद्योगहरूको रूपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताउनुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनतर्फ इङ्गित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गर्नुभयो । 

उहाँले वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सबैलाई मिलाउन पहल हुने बताउनुभयो  । उहाँले भन्नुभयो, “अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनुभयो भने सबै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सबै मिलेर उद्योग वाणिज्य महासङ्घलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।”

उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासङ्घको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यसको समस्या समाधानका लागि आफू सधैँ प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताउनुभयो। 

देशभरका झन्डै ५ सय प्रतिनिधि सहभागी भएको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ३० बजे