राजमार्गमा दृष्य एक, पीडा अनेक

कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न नपाइने

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरूको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् ।

 ‘नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

“कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन ।” राष्ट्र बैङ्कले बिहीबार संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ । बैङ्क तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीन पुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन् ।

एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा छ महिना व्यतीत भई शङ्कास्पद वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । 

राष्ट्र बैङ्कले एकीकृत निर्देशनमा परिमार्जन गर्दै रु १५ लाखसम्मको व्यक्तिगत कर्जामा सम मासिक किस्ताको समयावधि दुई वर्ष बढाएको छ । सममासिक किस्तामा कर्जा भुक्तानी हुने गरी भुक्तानी तालिका तय हुनुपर्ने र यस्तो कर्जाको अधिकतम समयावधि पाँच वर्षसम्म मात्र हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर सात वर्ष बनाइएको हो ।

त्यस्तै, अर्थतन्त्रमा पछिल्लो समय देखिएको अवस्थालाई हेरेर बैङ्क तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गर्दा तल्लो वर्गीकरणसमेत गर्न पाउने भएका छन् । “इजाजतप्राप्त संस्थाले अर्थतन्त्रमा देखिने असहज अवस्था वा अन्य कुनै कारणले ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आउने विश्लेषण गरेमा कर्जा सापटलाई तल्लो वर्गमा वर्गीकरण गर्न सक्नेछन् । उदाहरणका लागि कमसल कर्जालाई शङ्कास्पद वा खराब कर्जामा र शङ्कास्पदलाई खराब कर्जामा वर्गीकरण गर्न सकिनेछ ।” राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ ।

गैर बैङ्किङ सम्पत्तिको मूल्याङ्कन गर्दा बैङ्क तथा वित्तीय संस्थाले एउटै मूल्याङ्कनकर्ताबाट लगातार एक पटक भन्दा बढी सोही सम्पत्तिको मूल्याङ्कन गर्न नपाउने व्यवस्था पनि राष्ट्र बैङ्कले ल्याएको छ । रासस

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ३८ बजे