प्रवासी नेपाली आन्दोलन : जता जानु उतै लहसिनु

प्रवासी नेपाली सङ्घ भारतद्वारा आयोजित आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन अबको केही दिनमा भारतको वाणिज्य राजधानीको नाउँले परिचित महाराष्ट्र राज्यको पुणेमा सम्पन्न हुँदै छ । सन् २०२३ फरबरी महिनाको १९ देखि २१ सम्म हुने यो सम्मेलनमा प्रस्तुत हुने दस्ताबेजसम्बन्धी यसको तयारीका कतिपय विषयउपर जिम्मेवारीमाझ सघन संवाद आदानप्रदान भइरहेको छ । 

यसबीचमा सम्मेलन आयोजक कमिटीका संयोजक कमरेड लोकनाथ भण्डारीलगायत दर्जनौँ साथीहरूले मलाई प्रवासी नेपाली आन्दोलनको समग्र अवस्थाको गहकिलो अध्ययन, फराकिलो वर्तमान र सुन्दर भविष्य निर्माणका लागि कार्यक्रम निर्धारण, यसको प्राप्तिको लागि कार्यनीतिक पक्षबारे राय सुझाउन भन्नुभयो । सम्पर्क साँध्नुहुने कतिपय साथीहरूलाई मैले यो आन्दोलनको विषयगत ज्ञान र योग्यता–क्षमताका साथ स्थापित नेता कमरेड घनश्याम कोइरालाको खँदिलो सम्पर्कमा रहन, क्रिया–अन्तरक्रिया गर्न, यस क्रममा प्राप्त उहाँको राय सुझाव लिन र प्रयुक्त सुझावका आधारमा अघि बढ्न थप राय सुझाएँ । टेलिफोन महँगो पर्छ । फेसबुक मेसेन्जरमार्फत च्याट र संवाद आदानप्रदान कहिलेसम्म ? कतिन्जेल ? कति अनुकूल, कति प्रतिकूल ! आफूलाई लागेको कुरा सम्मेलनको सफलताको शुभेच्छास्वरुप सम्प्रेषण गरेको छु । 

म यति बेला प्रवासी नेपाली आन्दोलनको परिकल्पनाकार अग्रज प्रदीप नेपाल, मोदनाथ प्रश्रित, लक्ष्मण रायमाझी र कवि युद्धप्रसाद मिश्र र यो आन्दोलनलाई राजनीतिक लडाइँको अभिन्न अङ्गको रूपमा एउटा भिन्न मूल्यमान्यताका साथ राजनीतिक वैचारिक उचाइबाट दिशानिर्देश गर्नुहुने जननेता मदनकुमार भण्डारी, जीवराज आश्रित, शङ्कर पोखरेल, विभिन्न बेलामा नेतृत्व गर्नुहुने सिपी मैनाली, छविलाल विश्वकर्मा, झलनाथ खनाल, त्रिलोचन ढकाल, गोपाल शाक्य, झिल्लुप्रसाद तिवारी, केशवलाल श्रेष्ठलगायत दर्जनौँलाई सम्झिरहेको छु । उहाँहरूको राजनीतिक उपस्थिति र प्रवासी नेपाली आन्दोलन निर्माण र परिचालनको जगलाई सम्झिरहेको छु । आन्दोलनको विकास क्रम सँगसँगै नेतृत्व निर्माणको यो गर्विलो इतिहासप्रति अगाध श्रद्धाभावका साथ सम्झिरहेको छु । 

पृष्ठभूमि :

पन्जाबको लाहोरमा जागिर पेसा गरेर स्वदेश फर्किएका नेपाली श्रमिकले कहाँबाट आउनुभयो ? भन्ने प्रश्नको उत्तरमा लाहोर भनेसँगै समय क्रममा उच्चारण बिग्रँदै जाँदा लाहुर भनिएको हो भन्ने यथेष्ट आधारहरू छन् । भारतबाहेक श्रम बजारको खोजीमा जुन कुनै देशमा गएर फर्किएका नेपाली श्रमिकलाई स्वदेशमा लाहुरे भनिँदैन । तर, गरिखान भारत गएका नेपाली श्रमिकलाई मात्र स्वदेश फर्किएसँगै लाहुरे भनिन्छ । श्रम बजारको खोजीमा भारत जाने र देश फर्कने एउटा प्रकृतिको नेपाली छ भने बृटिशकालीन भारतीय अङ्ग्रेज शासक र नेपालबीच भएको सुगौली सन्धि (सन् १८१६–१८१८) कार्यान्वयनसँगै भारतमा गाभिन पुगेको नेपाली भू–भाग आधारित नेपाली नागरिकहरू भारतीय बन्न पुगेको नेपाली भारतमा रहेको एउटा तथ्य जगजाहेर छ, भू–राजनीतिक इतिहासको ऐनामा छर्लङ्ग छ । 

नेपालको सीमावर्ती भारतीय क्षेत्र– उत्तर प्रदेश राज्यको गोरखपुर सहरमा एकदेव आलेको अगुवाइ र नेतृत्वमा ५ मे १९६५ मा स्थापित प्रवासी नेपाली सङ्घ भारत– भारतमा बसोबासरत यी दुई भिन्न–भिन्न प्रकृतिका नेपाली समुदायको सहअस्तित्वको सम्मान, फरक फरक राष्ट्रिय पहिचान र अस्तित्वको रक्षा, अगाध सम्बन्ध–सामीप्यता र अटुट विश्वास आर्जनका साथ आफ्नो प्रस्ट अवधारणाको विकास सँगसँगै आमरूपमा भारतभरि छरिएर रहेका श्रमिक प्रवासी नेपाली समुदायमाझ तिनको हक अधिकारको प्रत्याभूतिको पक्षमा क्रियाशील सङ्गठन हो । 

सङ्गठन निर्माणपछिका दिनहरूमा भारतभरि आफूभित्रको सङ्गठनात्मक संरचना विकास र व्यवस्थापन सँगसँगै नेपालको राजनीतिक परिवर्तनको अभियानमा आफ्नो काँध थापेर रचेको गर्विलो इतिहास प्रवासी नेपाली आन्दोलनको एउटा अत्यन्तै महत्त्वपूर्ण कालखण्ड हो । एउटा अविश्रान्त योद्धाका रूपमा यो झन्डै छ दशक लामो र ओजपूर्ण विरासत लिएर उभिएको सङ्गठन प्रवासी नेपाली सङ्घ भारत यति बेला आफ्नो आठौँ अखिल भारत सम्मेलन गर्न गइरहेको छ । 

सङ्गठन र प्रभाव 

भारतभरि छरिएर रहेका प्रवासी नेपाली समुदायमाझ तिनको बृहत्तर हक अधिकारको पक्षमा काम गर्ने उद्देश्यका साथ गठित यो सङ्गठनले राजनीतिक–वैचारिक ढङ्गले निर्दिष्ट योजनाका साथ क्रियाशील जीवनको इतिहासमा आफ्नो विधान र वैधानिक क्षेत्रबाहिर पनि धेरै काम गरेको छ । मूलतः राज्यमा अभिजातीय वर्णाश्रित शाह वंशीय राजकाज, राजतन्त्रात्मक राज्य व्यवस्थाको दमन, निरङ्कुश तानाशाही राज्यसत्ता र पञ्चायती व्यवस्थाका कारण देशभित्र राजनीतिक सङ्गठन निर्माण र उद्देश्यअनुरूप गतिविधि गर्न नपाएको अवस्थामा सिमानापारिका प्रवासी नेपाली समुदायमाझको सामाजिक काम पनि राजनीतिक उद्देश्यबाट निर्देशित हुन्थ्यो । बराणसीमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस र कोलकात्तामा स्थापित नेपाल कम्युनिष्ट पार्टीले निर्माण कालका प्रारम्भिक दिनहरूमा आफ्नो पार्टी सम्बद्ध राजनीतिक सङ्गठन र सङ्गठनात्मक क्षेत्र बिस्तारको एउटा मुख्य आधार क्षेत्र भारत प्रवासलाई नै बनाएको थियो । लाखौँ प्रवासी नेपाली समुदायमाझ हुने पार्टी कामले देशभित्रको पार्टी कामसरह महत्त्व पाउँथ्यो । आफ्नो भूगोल र प्रत्यक्ष भूमिकाबाहिरको कार्यस्थल भएकोले यो भूमिगत शैलीमा शब्दोच्चारित प्रवास कमिटी हुन्थ्यो । आफ्नो निर्माण समयदेखि नै प्रवासी नेपाली सङ्घ भारत– बिचारले, कार्यक्रमले, जनधारले, जनविश्वासले र सङ्गठनमार्फत यसको बृहत्तर फैलावले भारतको सर्वाधिक ठूलो र प्रभावकारी सङ्गठन थियो र अद्यापि छ ।  

न्याय नपाए गोरखा जानु, विद्या नपाए काशी भनिएसँगै काशी बराणसीलगायतका क्षेत्रमा अध्ययनका लागि आश्रित हजारौँ नेपाली विद्यार्थीमाझ सङ्गठनको कामले आकार लिनु भनेको यसको राजनीतिक वैचारिक पक्षको उठान गर्नु, निर्दिष्ट मुद्दाको वस्तुनिष्ठ पहिचान गर्नु, सामाजिक–सांस्कृतिक जागरणको रक्तसञ्चार प्रवाह गर्नु र राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चहरूमा आन्दोलनलाई उभ्याउनु थियो । प्रवासी नेपाली आन्दोलन यो नितान्त स्व जातीय मुद्दामाथिको वकालत, बहस र पैरवीका अतिरिक्त जिम्मेवारी निर्वाहको मोर्चामा सधैँभरि सफल रहँदै आयो । 

यसबीचमा प्रवासी नेपाली अधिकारको लागि राजनीतिक सङ्घर्ष, सामाजिक सचेतनाको लागि सङ्घर्ष, नेपाली पहिचानमुखी संस्कृतिको संवर्द्धन, विकास र फैलावको लागि सहकार्य, देशभित्र र बाहिर पनि कतिपय अवस्थामा निम्न वर्ग, श्रमिक आन्दोलन र महिला आन्दोलनप्रति सहभागिता र सक्रिय समर्थन रह्यो । सामाजिक सद्भाव अभिवृद्धि, चेतनाको विकास र व्यक्तिगत वा सामूहिक समस्याको निराकरणमा पहलकदमी र सहयोगी भूमिका रह्यो । 

आन्दोलन निर्माण कालको झन्डै एउटा पुस्ता खर्चिएर यहाँसम्म आइपुग्दा मुलुकले संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाएको छ । अहिले देश लामो समयसम्मको अथक प्रयत्नस्वरुप प्राप्त संविधान निर्बाध कार्यान्वयनको चरणमा छ । भारतस्थित प्रवासी नेपाली समुदाय सङ्गठित ढङ्गले जोडिएको यो आन्दोलनको ऐतिहासिक सफलता हो । प्रयोगका दृष्टिकोणले पनि सफल भएको मुलुकको राजनीतिक परिवर्तनको आन्दोलन र प्राप्त उपलब्धिको जगमा उभिएर यति बेला यसको व्यवस्थापनको अभियानअन्तर्गत यो आन्दोलन हातेमालो गर्न आइपुगेको छ । समृद्ध नेपाल : सुखी नेपाली निर्माणको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न प्रवासी नेपाली सङ्घ भारतको ब्यानर मुनि सङ्गठित प्रवासी नेपाली आन्दोलनले एक स्वर, लय र तालमा समुन्नत समाज निर्माणको संवैधानिक आधारशीलताभित्र जोडिनुपर्ने भएको छ । अबको सामाजिक–आर्थिक परिवर्तन र व्यवस्थापनको एजेन्डासँग सहकार्य गर्नुपर्ने छ । आन्दोलनको यो नयाँ संस्करणको रूपमा प्रवासी नेपाली सङ्घ भारतले आफूलाई आशातीत सहर्ष उभ्याउनुपर्ने छ । 

आन्दोलन र क्षेत्र बिस्तार

भारतीय श्रम बजारको खोजी हिजो आम रूपमा सबैका लागि सहज थियो, सबैको पहुँचमा थियो र विकल्पको तलासमा यो अनिवार्य प्रायशः थियो । श्रम बजारको चाहना होस् वा उच्च शिक्षा आर्जनको ! भारतीय बजारको विकल्प थिएन । आज यो धेरै साँघुरो भएको छ । सरकारी कामकाजका क्षेत्रमा नेपालीहरू निषेधित हुन थालेका छन् भने भारतीय श्रम बजारको विकल्प विश्वका तेस्रा मुलुकका अतिरिक्त अमेरिका, अस्ट्रेलिया, जापान, जर्मन आदि बनेका छन् । पहिलो पुस्ताको हाम्रो कामदार सेवानिवृत्तकालको उत्तरार्धको अनुभवी समय लिएर देशभित्र रमाउन थालेको छ भने दोस्रो पुस्ताको कामदार असङ्गठित क्षेत्रको काममा आफूलाई संलग्न गराउँदै आएको छ । यो पुस्ता सडक किनारमा स्थानीय आवश्यकताअनुसारको विधागत पेसा, व्यापार–व्यवसाय गर्नेदेखि लिएर मार्केटिङ क्षमताका साथ नयाँ–नयाँ सम्भावनाहरू लिएर उदाइरहेको छ । तलब थापेका दिन मात्र हजारको नोट देख्ने चौकीदार बाबुको छोरो आज लखपति बनेको छ । जीवनभर साइकल सवार बाबुको छोरो बजारमा उपलब्ध उम्दा र महँगा गाडीमा सवार हुने भएको छ । जी हजुरी गरेर नथाक्ने बाबुको छोरो स्थानीयमाझ जी हजुरी सहित चिनिएको छ, लाला कहलिएको छ । वास्तवमा यो नै आन्दोलनको उपज हो, सम्बन्धित व्यक्तिका लागि पुस्तान्तरणको सुखद पक्ष हो । आन्दोलनले यसलाई आफ्नो उपलब्धिको रूपमा पुँजीकृत गर्न सकेको छैन, अभिलेखी कृत गर्न सकेको छैन । 

श्रम बजार क्षेत्र मात्र होइन, निरक्षर बाबुको छोरो साक्षरता मापनको अग्लो पात्र बनेको छ । स्वाभाविक हो कि यसको प्रभावस्वरुप उसको श्रम संलग्नता, श्रम बजार, अर्थोपार्जनका उपाय र सामाजिक सहकार्यका बीच जीवन व्यवस्थापनको आयाम फेरिएको छ, फराकिलो बनेको छ । वैश्विक दुनियाँमा नागरिकको परस्पर आवागमन र बसोबास क्रमशः सामान्य विषय बन्दै गइरहेको छ । फलतः नेपालीको उपस्थिति सर्वत्र ह्वात्तै बढेको छ । यद्यपि, नेपाली नागरिकको सङ्ख्या, भूमिका र भूगोलले भारतमा बसोबास गर्ने नेपालीको अवस्था एउटा होला तर यत्तिकै ठूलो सङ्ख्या नेपाली दाजुभाइ दिदीबहिनीहरू समुन्द्रवारि–पारिको दिनचर्यामा रमाइरहेका छन् । नेपाल र नेपालीप्रति भारतीय शासक वर्गको रवैया, हेलाँ र होच्याउने व्यवहारका कारण पछिल्लो शिक्षित पुस्ता श्रम बजार वा ज्ञान आर्जनको विकल्पमा भारतबाहेकका देशलाई मान्न थालेको छ । यो आफैँमा आन्दोलनको क्षेत्र बिस्तार होइन र ? 

सङ्गठन निर्माण, परिचालन र उपलब्ध आर्जनको फेहरिस्त सङ्ग्रह गरिरहँदा प्रवासी नेपाली आन्दोलनको सर्वाधिक पुरानो र जेठो इतिहासको गहकिलो ओज र क्रेज मिश्रित संस्था प्रवासी नेपाली सङ्घ भारतले भू–राजनीतिक वस्तुस्थिति, नवोदित परिवेश र सम्भावनालाई चिन्ने र बुन्ने जिम्मेवारी समेत आफ्नो काँधमा थोपरिएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ भने अर्कोतिर भारतबाहेक थुप्रै देश–देशान्तरमा आश्रित नेपाली समुदायको समेत नेता बन्ने र नेतृत्व गर्ने प्रयत्न गर्नुपर्ने आवश्यकता छ । प्रवासी नेपाली आन्दोलन समकालीन सबै खाले आन्दोलनमाझ जेठो हुनुको नाताले प्रवासी नेपाली सङ्घ भारतको हकमा यो उसको दायित्व हो भने विकसित परिस्थिति र परिवेशअनुसार गुड्न र गुडाउन नसक्दा औसतमा आफ्नो गाडी कमजोर हुने हो कि भन्ने हेक्का चालक हुने गरेकै हुन्छ । 

परिवर्तित परिस्थिति

समय र परिस्थितिले हामीलाई अलिक फरक ठाउँमा ल्याएको छ । एकातिर राजनीतिक परिवर्तनको बिम्ब दिने संविधान निर्माण र कार्यान्वयनको सफलतासँगै यसलाई समृद्ध तुल्याउनुपर्ने भूमिकासामु हामी उभिएका छौँ भने अर्कोतिर सामाजिक–आर्थिक समुन्नतिका आधारहरू देशभित्रै सिर्जना गर्दै श्रम बजारको खोजतलासमा देश बाहिरिने क्रमलाई बिना कुनै विलम्ब अविलम्ब रोक्नुपर्ने छ । यता– देशबाहिरका नेपाली नागरिकको सम्मानजनक कार्यस्थल, सामाजिक सुरक्षा र विषयगत रुचि एवम् आवश्यकताअनुसार प्रवासी–घरवासी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने छ ।  

देशभित्र संवैधानिक परिकल्पना र व्यवस्थापनअनुसार सङ्घीय संरचनाको अधीनमा तीन तहका सरकार सञ्चालनमा आएका छन् । भरखरै अघि मात्र सङ्घीय संरचना नवीकृत भइसकेको छ, दोस्रो पटक चुनाव भइसकेको छ । एक थुकी सुकी, सय थुकी नदी भने झैँ आफूहरूले कमाएको पुँजी, प्रविधिमूलक ज्ञान, सीप र अनुभवको प्रयोगमार्फत देश निर्माणको अभियानमा कहाँ जोडिने ? कुन संयन्त्रमार्फत जोडिने ? कहिलेसम्म जोडिने ? कसरी जोडिने ? यसतर्फ आवश्यक अध्ययन मनन र बिचार विमर्श हुन जरुरी छ । देशले सामाजिक–आर्थिक वृद्धिसहितको परिवर्तन खोजेको छ । हामीले यसमा सहकार्य गर्नुपर्ने छ । यो भूमिकाको सहायक मात्र होइन, प्रमुख हिस्सेदार शक्ति प्रवासी नेपाली सङ्घ भारत बन्नुपर्ने छ । सामाजिक सबलीकरण सहितको अर्थतन्त्र निर्माण गर्नु आजको साझा अभिभारा हो भन्ने निष्कर्षमा हामी सबै पुग्ने हो भने यस दौडमा संलग्न सबै शक्तिको यो धावनमार्ग पनि हो । प्रवासी नेपाली सङ्घ भारत यो धावनमार्गको उम्दा धावक हो भन्ने बन्नुपर्छ । यो मार्ग निर्देशित र अविचलित प्रवासी नेपाली आन्दोलनले देशभित्रको सामाजिक–आर्थिक सबलीकरणको एजेन्डामा सहकार्य गर्दै अभियानअन्तर्गत जता जानु उतै लहसिनुको विकल्प तलास्नु हुँदैन । 

विगतका हाम्रा सङ्गठन निर्माणका प्रयासहरू मूलतः राजनीतिक परिवर्तनको उद्देश्य र अभ्यासमा आधारित थिए । राजनीतिक लडाइँ जित्न होमिएको आन्दोलनले यसको प्रतिफल प्राप्ति र व्यवस्थापनतर्फ पर्याप्त ध्यान दिन सकेन । यस्ता कतिपय विषयमा यसको आधार निर्माण सहित यसतर्फ ध्यान पुग्न सकेको थिएन । देशभित्र राजनीतिक परिवर्तनले फड्को मारिसकेको विद्यमान अवस्थामा प्रवासी नेपाली आन्दोलनले यथास्थितिमा रहनु हुँदैन । समुन्द्रमा हानिएको ढुङ्गा फेरि कता हरायो, हरायो भनेर गोताखोर शैलीमा खोजे झैँ सधैँभरि एकनास, एक वेग र एक डेगले खोजिनु हुँदैन । नेतृत्वले प्राप्त विरासतमा उभिएर पुरानो पक्षको अनिवार्य अभिलेखीकरण सँगसँगै नयाँ अर्को पडाव प्राप्त गर्न सक्नुपर्दछ । 

सम्मान र लगानी

प्रवासी नेपाली आन्दोलनको सङ्गठित यो ठूलो प्रयासस्वरुप प्राप्त संविधानमार्फत सुरक्षित र संरक्षित यसका आधारभूत विषयवस्तुमा प्रवासी नेपाली समुदाय कहाँ अटाएको छ ? संविधान प्रदत्त अधिकारका विषयवस्तुले प्रवासी नेपाली समुदायलाई कसरी सम्बोधन गरेको छ ? समुदायले संवैधानिक अधिकारको प्रत्याभूति कसरी गर्ने ? प्रवासी नेपाली आन्दोलनको प्रतिफलस्वरुप प्राप्त पुँजीको रूपमा संविधानलाई कसरी लिने ? जस्ता अनिवार्य विषय र संगतयुक्त मसिना तर थुप्रै महत्त्वपूर्ण विषयउपर बहस, छलफल, अध्ययन, विमर्श आदि हुन आवश्यक छ । 

प्राप्त विषयका आधारमा हाम्रो ओज र क्रेजले भरिएको उपस्थिति, शालीन र सुशील प्रस्तुति र भद्र पदचाप कसरी बढाउने ? यसतर्फ गम्भीरतापूर्वक घोत्लिन र आवश्यक गृहकार्य आरम्भ गरिनु जरुरी छ । देशले चाहेअनुरूप सामाजिक–आर्थिक वृद्धिसहितको गुणात्मक परिवर्तन र व्यवस्थापनको अभियानमा प्रवासी नेपाली समुदाय कसरी जोडिने ? कहाँ भेटिने ? यससम्बन्धी जानकार, विषय विज्ञ र अनुभवीसँग हाम्रो परिपक्ष्यमा अपेक्षित गतिका साथ सल्लाह मसवरा हुन आवश्यक छ । एउटा कोर्सको समाप्तिसँगै आरम्भ भएको अर्को डिस्कोर्सअनुरुप अब पुग्ने कहाँ ? बिना कुनै अलमल एउटा दिशा निर्दिष्ट कोशेढुंगा तय हुन जरुरी छ । यसरी पनि प्रवासी नेपाली आन्दोलनले जता जानु उतै लहसिनुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ । प्रवासी नेपाली आन्दोलन अझै पनि आफ्नो क्षेत्रबाट विश्व बजारमा आफ्नो पहुँच वृद्धिको आधार बन्नुपर्छ, सामाजिक सांस्कृतिक सहचारी बन्नुपर्छ, कूटनीतिक मर्यादा चिप्लिएका बेला खबरदारी समेत गर्न सक्ने नियोग बन्नुपर्छ, यथास्थितिविरुद्धको बोल्न सक्ने मसाल बन्नुपर्छ, जहाँ झोस्यो, त्यहाँ सल्कियो भन्ने विश्वास आर्जन सहितको आगो बन्नुपर्छ । 

आन्दोलन अर्थात् अभियान

आन्दोलनले ल्याएको परिवर्तनपछि प्राप्त अवसरको व्यवस्थापनको अभियानमा जोडिएसँगै यसलाई दिशानिर्देश गर्ने औजार, सार संक्षेपमा कार्यक्रम छ र धारिलो कार्यनीति तय गरिनुपर्ने छ । यतिका बेरसम्म मुलुकभित्रको राजनीतिक कामका आवश्यकताका हिसाबले जिम्मेवारी बोधका साथ परिचालित प्रवासी नेपाली आन्दोलनलाई आफ्नै धरातलीय यथार्थ र वस्तुगत आवश्यकताअनुसार अघि लैजानुपर्ने टड्कारो खाँचो महसुस हुन्छ । यसनिम्ति गौरवपूर्ण अविश्रान्त विगतप्रति सगर्व सम्मान सहित बहुसङ्ख्यक नेपालीका आँखामा अटाएको सपनाको सग्लो र अग्लो प्रत्याभूति दिने सुन्दर आगतका लागि दृष्टिकोण निर्माण पहिलो र अनिवार्य सर्त हो । यसको ऐतिहासिक पक्ष हाम्रो विरासत हो । 

आन्दोलनको चरित्र मूलतः प्रगतिशील, देशभक्त र जनवादी नै हो । समय र वस्तुस्थितिमा फेरबदल आयो भनेको चरित्रमा फेरबदल आयो भनेको होइन । स्वरूपका दृष्टिकोणले यो सङ्गठन साझा, स्वतन्त्र र सामूहिक सङ्गठन नै हो । सङ्गठनात्मक सिद्धान्त र भारतको परिवेश सुहाउँदो हाम्रो दृष्टिकोणमा परिवर्तन आयो भनेको होइन । विज्ञान प्रविधिको विकाससँगै यसमा हाम्रो पहुँच अभावले चुनौती थपिए । अवसर साँघुरिए र फक्रिए पनि । यो दुवै अवस्थामा छौँ हामी यति बेला ।  

यहाँ जोड दिन चाहेको पक्ष के मात्र हो भने प्रवासी नेपालीहरूको हकहित र दुई देशबीच सम्पन्न सन्धीप्रदत्त हक अधिकारको उपयोग गर्ने विषय, प्रवासी नेपालीहरूलाई साँचो अर्थमा ज्ञान, सीप र दक्षतामा श्रेष्ठ बनाउँदै आर्थिक समुन्नतिको लागि सहकार्य गर्ने गराउने विषय, श्रमप्रतिको सम्मान भाव जगाउने र श्रमिक अधिकार प्राप्तिका लागि कार्य सहकार्य गर्ने गराउने विषय, प्राकृतिक सन्तुलन, सामाजिक एकता, शारीरिक स्वास्थ्यप्रतिको सचेतना जगाउँदै समुदायलाई तुलनात्मक मेहनती, इमानदार बनाउने विषय, नेपाली संस्कृतिको संवर्द्धन संरक्षण र प्रवर्धनमा प्रवासी नेपालीहरू र तिनका सन्तानहरूलाई नेपालप्रति मायामोह जगाउने र दायित्वबोध गराउने विषय, नेपाल राष्ट्रको समृद्धि र उन्नति–प्रगतिमा सहभागिता गर्दै गराउँदै आम रूपमा नागरिक हक अधिकारको लागि सङ्घर्ष गर्ने विषय, नेपाल–भारत सम्बन्धलाई दिगो बनाउन सकारात्मक योगदान गर्ने सिर्जनशील व्यक्तिको सहभागिता सुनिश्चित गर्ने विषय, नेपालको आन्तरिक र बाह्य पर्यटनको संवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय सरोकारका साझा विषयमा आम रूपमा प्रत्येक प्रवासी नेपाली नागरिकलाई जिम्मेवार तुल्याउने र परस्पर सम्बन्ध–सेतुको रूपमा उभ्याउने विषय र प्रवासी नेपालीले कमाएको ज्ञान, सीप, पुँजी र प्रविधि परिचालनमार्फत प्रत्येकलाई समृद्ध नेपाल ः सुखी नेपाली निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमै जोड्न अभिभारा नै अहिलेको साझा अभिभारा हो । यसतर्फ आन्दोलनलाई अब भने मूतरूपले डोराउने सामर्थ्य यो आन्दोलनले विकास गर्नुपर्छ ।  

एउटा घटना स्मरणीय छ– एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले जापानको औपचारिक रोस्टमा उभिएर बुद्ध वाज बर्न इन हिन्दुस्तान भने लगत्तैपछि अमेरिकामा बसोबास गर्ने प्रवासी नेपाली समुदायले यसको प्रतिकार स्वरूप सडकमा उत्रिए, सिनेट अघि प्रदर्शन गरे । शासक वर्गले आफ्नो तालले महसुस गरे नै तर यसको प्रभावस्वरुप त्यो वर्ष नेपालमा बाह्य पर्यटक ह्वात्तै बढेको थियो । आफ्नो देशको समग्र सम्पदाका लागि हामी स्वयं प्रचारक पनि हौँ । यसको प्रचारमार्फत पनि पर्यटनको क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्दै देशको अर्थतन्त्रमा टेवा हाल्न सक्छौँ ।  

उपसंहार

राजनीतिक परिवर्तन स्थापित गर्न भूमिका खेलेको प्रवासी नेपाली आन्दोलनले अब भने आफ्ना लागि पनि केही न केही नवीनता सिर्जना गर्ने कार्यारम्भ गर्नुपर्ने छ । यो भनेको देशभित्र फेरिएको राजनीतिक व्यवस्थासँग अन्तर सम्बन्धित हक र अधिकारको प्रत्याभूति गर्ने र प्रवासी नेपालीमैत्री वातावरण निर्माण गर्ने हो भने अर्कोतिर प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी जो जहाँ छन्, यथास्थानमै आम रूपमा श्रमिक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि लड्ने, यसको सुनिश्चितता गर्ने र आवश्यक पर्दा परस्पर मुद्दा मिल्दाजुल्दा विभिन्न शक्तिसँग सहकार्य गर्ने वातावरण मिलाउनुपर्छ । यो सहकार्य स्थानीय भारतीय श्रमिक संघसंगठन वा अन्यान्य देश र अन्तर देशका प्रवासी श्रमिक संघसंगठनसँग पनि हुन सक्छ । भारतमा हामी मात्र होइन, सामान्यतः बिहारको नागरिक महाराष्ट्रमा अपमानित छ, केरलाको नागरिक पन्जाबमा अपमानित छ र बङ्गालको नागरिक गुजरातमा अपमानित छ । अपमानविरुद्ध सम्मान, विभेदविरुद्ध समानता र अन्यायविरुद्ध न्यायका लागि जो कोहीसँग सहकार्य गर्न सकिन्छ । मानव मूल्य र अस्तित्व–सहअस्तित्वमा आधारित एजेन्डामा सहकार्य गर्न सकिन्छ । यथास्थानमै निर्भयताका साथ सम्मानपूर्वक बाँच्न पाउने जुन कुनै देश–देशान्तरका नागरिकको पहिलो अधिकार हो । यस खालको अधिकारमा आधारित साझा सवालमा सहकार्य हुन सक्छ र गर्नुपर्दछ । सहकार्यको अभ्यासमार्फत पनि प्रवासी नेपाली उभिएको जगमा राष्ट्रिय पहिचानको विषयलाई संस्थागत गर्ने काम गर्नुपर्ने छ । 

रेमिटेन्स, सेवा सुरक्षा, बेचबिखन, यातायात, लुटपाट, ठगी आदि मुद्दा कमन भइसके । स्वयंमा सचेतना वृद्धि गर्नुको विकल्प छैन । मुठो बाँधेर पैसा बोकेर गन्दै नहिँड्ने, गुन्टो बाँधेर भारी बोकेर नहिँड्ने, बाटामा पूर्णतः सचेतना र सावधानी अपनाएर हिँड्ने । घर हिँडेको भन्दै तनक्क पिएर हिँडेपछि मानिसले दुःख पाउँदैन त ? यस्ता कतिपय विषयउपर पर्याप्त चेतना विकास र सञ्चार प्रवाहका लागि समय समयमा जागरण अभियान, शिक्षा–प्रशिक्षण, तालिम आदि चलाउनुपर्छ ।  आन्दोलनलाई यी आधारभूत मुद्दाभन्दा माथि उठ्न र उठाउन एकदमै जरुरी छ । 

जसरी ससाना नराम्रा कर्मले नेपालीको नाउँ आउने गर्छ । ज्ञान अभाव यदाकदा अप्रिय घटना–परिघटना घट्न आइपुगे पनि सामान्यतः नेपाली जन नेपाली माटो चुमेको मनले यस्तो गर्न सक्दैन । अब हामीले यसको क्षतिपूर्ति गर्नुपर्ने छ । अविराम लगन, इमान र निष्ठाको जगमा अर्जित सिर्जनशील श्रम, ज्ञान, प्रविधि र पुँजीको प्रयोगमार्फत राष्ट्रिय पहिचान बढाउनुपर्ने छ । हाम्रो व्यक्ति वा समुदाय जो जहाँ छ, त्यहीँ सामाजिक अग्रगति र प्रगतिका लागि सके आफ्नै ब्यानरमुनि उभिएर, नसके मुद्दा नजिकै रहेका शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने छ । 

यो आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन पूर्णतः सफलताको लागि प्रस्तावित नारास्वरुप शुभेच्छा अर्पण गर्न चाहन्छु–

हाम्रो परिचयले राष्ट्रिय पहिचान बढाऔँ !

सामाजिक न्याय, अग्रगति र प्रगतिका लागि सहकार्य गरौँ !! 

Let's increase the national identity with our introduction!

Let's cooperate for social justice, advancement and progress!!

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ११ बजे