राजमार्गमा दृष्य एक, पीडा अनेक

नाग्म–गमगढी सडक कालोपत्रे गरिने

मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्रे गरिने भएको छ । 

चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडक खण्ड कालोपत्र गर्न लागिएको हो । 

९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताउनुभयो । हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ ।

चौलागाईंले भन्नुभयो, “पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ । बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुनेछ ।” थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रेको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । 

नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रेको काम हुनेछ । नाग्म–गमगढी सडक कालोपत्र गर्न रु ४० करोड खर्च हुने भएको छ । 

कालोपत्रेसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन् । समग्र ९३ किमी सडक नै कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाग्म–गमगढी सडक ग्राभेल गरिएको छ । गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रेपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ । सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । 

कर्णाली राजमार्ग स्तर वृद्धिसँगै नाग्म–गमगढी सडक कालोपत्रेको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताउनुभयो । रासस

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : १५ बजे