साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भुईँ न भाँडोको प्रतिपक्ष नेपाली काँग्रेस

यतिखेर देउवापन्थी नेपाली काँग्रेसको चुरीफुरी शीताङ्ग भएको छ । चाहिनेभन्दा बढी लालची र महत्त्वाकाङ्क्षी हुँदा “बल्ल खाईस मङ्गले आफ्नै ढङ्गले” भने झैँ नराम्ररी जिल्लिएको छ । सबै खाले मीठो मसिनो परिकार मैँ खाऊँ, सबै राम्रा वस्त्र मैँ लाऊँ, सबै सुख सयल मैँ काटूँ वा सारा मोज मस्ती पनि मैँ म मात्रै गरूँ भन्ने हाँडीघोप्टे स्वभावले गर्दा आफ्नै बल्छीमा बल्झिसकेको सुनौलो माछा (माओवादी) अपर्झट उफ्रियो र प्रशान्त सागरमा छिर्‍यो । त्यसपछि त नेपाली काँग्रेसको हविगत “उडायो सपना सबै हुरीले” भने झैँ अत्यन्तै निर्भुक्क हुन पुग्यो ।

आफ्नो हविगत पानी बिनाको माछाको जस्तो भएको चाल पाएपछि त अहिले काँग्रेस निकै नै छटपटाएको छ । अति नजरअन्दाज र हेलचेक्र्याइँले गर्दा आफ्नै हातबाट फ्यात्तै फुत्केको त्यो माछालाई जसरी भए पनि फेरि आफ्नै ढडियामा पार्न यतिखेर काँग्रेस कम्मर कसेर दुवालो थाप्न फुस्फुसाईरहेको छ । आफ्नो हात जगन्नाथ हुँदासम्म राष्ट्रिय सहमतिको “स” उच्चारण गर्न समेत नमान्ने काँग्रेस धूर्त स्यालको शैलीमा सिकार गर्ने नयाँ जुक्ति लगाउँदै छ । केही थान आग्रही चुत्याहा धुन्धुकारीहरुको मण्डलीमा मनको लड्डु घिउसँग चपाउँदै राष्ट्रिय सहमतिको अलाप लगाइरहेको छ ।

आफ्नो मक्सद एक्कासि खौला परेपछि लाजै पचाएर नयाँ गठबन्धनबाट अत्यधिक मतका साथ प्रधानमन्त्रीको कुर्सीमा आसिन भएका प्रचण्डलाई विश्वासको मत दिए झैँ गरेर उनको आँखामा धुलो छर्केको छ, सत्ता गठबन्धनको मर्म र भावनालाई दुष्चक्रमा पार्ने कुचेष्टा गरेको छ । उसको यो चतुर्याईंको मक्सद जसरी पनि यो गठबन्धनको जग हल्लाउने, भत्काउने र लथालिङ्ग पार्दिएपछि अन्ततः संसद्को ठुलो दलको नाममा सत्ताको बागडोर आफैले लिने बाहेक अरू केही हुनै सक्दैन ।

साँच्चैभन्दा अहिले नेपाली काँग्रेस भुईँ न भाँडोको प्रतिपक्ष बनेको छ । एकातिर भिन्न गठबन्धनको प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्कोतिर प्रतिपक्षको दर्जा जोगाई पाउँ भन्दै सभामुख समक्ष निवेदन दिने काँग्रेस स्वाँगी हो, चटके हो, जोकर हो र चोरको बाउ चण्डाल हो । त्यसैले काँग्रेसलाई यति बिघ्न निर्वस्त्र देख्दा लाज पनि नलजाई रहन सकेन होला ! 

उसको पछिल्लो चटक पनि माओवादी केन्द्रलाई सम्मोहित गरेर बिस्तारै टुनामुना गर्ने कलुषित सोचको उपज मात्रै हो । माओवादी केन्द्र बाहेकका दलबाट सभामुख, उपसभामुख अनि प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तर माओवादी केन्द्रका उम्मेदवार भएकाहरू जुनसुकै पदमा वाक ओभर दिने चर्तिकलाले नेपाली काँग्रेसको दुर्नियत छर्लंगिएको छ । माघ २३ गतेका दिन सम्पन्न भएको राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा सत्ताधारी गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई वाक ओभर दिएर उसले फेरि “ढुकुवा सिद्धान्त” लाई मलजल गर्‍यो ।

एकादेशको एउटा “धूर्त स्यालले साँढेको फल कतिखेर झर्ला र खाउँला” भनेर रुँग्दारुँग्दै उसको बिल्लबाठ भएको कारुणिक चित्रण जस्तै कथंकदाचित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पनि हिस्स बुढी हरिया दाँत भयो भने अन्यथा नमान्दा हुन्छ । 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : १३ बजे