आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । 

सङ्घीय संसद् सचिवालयले राष्ट्रियसभाको उपाध्यक्षका लागि आज अपराह्न १ः०० बजेदेखि ४ः०० बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । 

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ः०० बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गर्नुभएको थियो । 

आज ४ः०० बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेस गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ । 

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोक्नुभएको थियो । मिति तोकेर सभाध्यक्षले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार महासचिवले आजका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गर्नुभएको हो ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : १९ बजे