सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन

काठमाडाैं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध प्रदर्शन भएको हो । केही युवायुवतीहरूले माइतीघरमा जम्मा भएर क्यानविरुद्ध प्रदर्शन गरेका हुन् । 

क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै  विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । 

क्रिकेटर लामिछाने शुक्रबारदेखि नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो । गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको भन्दै निलम्बन फुकुवा गरेको थियो । 

बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । उच्च अदालत पाटनले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्ट्याउँदै सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।  

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : २१ बजे