तनहुँ । जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको अभियोगमा ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।
नाबालिगलाई बलात्कार गरेको अभियोगमा आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयाे । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन ।
वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ ।
आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ । तर सजाय निर्धारण भने बाँकी छ ।
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ३ : ४८ बजे
प्रतिक्रिया