आन्तरिक हवाई उडानमा अत्यधिक चाप

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्र मन्त्री पौड्याल

काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ । 

उहाँले बुधवार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराउनुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले मन्त्री पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुने जानकारी गराउनुभयो ।   

उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रूपमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु हुनेछ ।

परराष्ट्र मन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी, उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । 

परराष्ट्र मन्त्री डा.पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्नुहुने र माघ २५ गते काठमाडौँ फर्कनुहुने कार्यक्रम सहसचिव सुवेदीले बताउनुभयो ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : १६ बजे