साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘मुहान हेर्न’ फिनल्याण्डको टोली भागवतेमा

भकुण्डवेशी । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ । 

नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय टोलीले इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मुहान संरक्षण कार्यक्रम अवलोकन गरेको हो ।

पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८/७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मूल फुटेका थिए । 

सोही मुहानहरूबाट पानी सङ्कलन गरी टंयाकी निर्माण गरेर स्थानीय १२–१३ घरधुरीलाई खानेपानी खुवाइएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । टंयाकीमा सङ्कलन भएर बढी भएको पानी स्थानीयले सिँचाइको लागि प्रयोग समेत गरेका छन् ।

हिउँदमा भने पानी केही कम सङ्कलन भएको नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार, सोही वडाका अन्य ३ स्थानमा पनि यस्ता रिचार्ज पोखरी खनिएका छन् ।

राजदूत हेका, निर्देशक किल्युनेन लगायत टोलीका सदस्यले कार्यक्रम लागू भए पनि स्थानीय समुदाय लाभान्वित भएको विषयबारे जानकारी लिएका थिए । स्थानीय अस्बिनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीका श्रोत रिचार्ज पोखरी खनेपछि पुन रसाएको प्रतिक्रिया दिनुभयो । 

स्थानीय पूर्णमान लामाले सो प्रविधि प्रयोग गरेपछि सुकेको मुहान पनि रसाएको बताउनुभयो । 

स्थानीय लमिन माया लामाले पहिला आकाशे पानीको भरमा खेती हुने भए पनि अहिले पानी जमाएर तरकारी खेती र पशुपालन समेत गरेको बताउनुभयो । 

टोलीलाई धन्यवाद दिँदै नगर प्रमुख कुनसाङ लामाले सीमित श्रोत र साधनको कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यका साथ अघि बढ्न चाहेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन र उत्पादकत्व बढाउन फलदायी भएको भन्दै नगरपालिका यस्ता योजना सञ्चालन गर्न थप उत्साहित भएको बताउनुभयो । 

कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नमोबुद्ध ३ का वडा सदस्य रेशमबहादुर दाहाल, कृषि प्राविधिक सहायक नवीन अधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १० : ०७ बजे