सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

२१११ अंकमा ओर्लियो सेयर बजार

काठमाडौँ  ।  मंगलबार पनि सेयर बजारले ओरालो यात्रा गरेको छ । आज परिसूचक नेप्से २१११ अंकमा ओर्लिएको छ । दिनभरको उतारचढावका बाबजुत कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा नेप्से १५.७४ अंक घटेको हो । आज कारोबार रकम पनि घटेको छ । जम्मा २ अर्ब ८२ करोडको कारोबार भयो । सोमबार ३ अर्ब ३० करोडको कारोबार भएको थियो । 

दिनभर कुल ५७ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ११ को स्थिर रहृयो । जलविद्युत् उपसमूह जम्मा ०.६ अंकमा हरियो रहृयो । अरु सबै उपसमूह ओर्लिए । बैंकिङ ११, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन २२, जीवन बीमा १२८, उत्पादन ४३, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३२, अन्य ९ र ब्यापार उपसमूह १३ अंक घटे ।

बजार घट्दा पनि आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ७, लुम्बिनी जनरलको ६ तथा इस्टर्न हाइड्रोको ५ प्रतिशत मूल्य बढ्यो । प्राइम लाइफको मूल्य भने ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, लुम्बिनी जनरल, गुरास लाइफ, एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ५१ बजे