खोटाङ – वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ।
साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरेर घेराबारासहितको उद्यान निर्माण गरेर राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताउनुभयो । “राखाबाङ्देल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो”, उहाँले भन्नुभयो, “लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उहाँकै पुख्र्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।”
सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गर्नुभएको थियो । कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गर्नुभएको जनाइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको सालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । दिक्तेलसम्म सालिक पु¥याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई रु ३० हजार भाडा दिएको जनाइएको छ ।
जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौँसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।
स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुख्र्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार ७ : ४७ बजे
प्रतिक्रिया