पर्सा – वीरगंज महानगरपालिका-१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका-४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका-१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।
वीरगंज महानगरपालिका-१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना.१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार २ : १७ बजे
प्रतिक्रिया