आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नवनिर्माणको शृङ्खला अघि बढाएरमात्र शहीदले देखाएको मार्ग अनुसरण गर्न सकिन्छ : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको बलिदानी स्वरूप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा नेकपा एमाले रहेको बताउनुभएको छ । 

शहीद दिवस २०७९ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै अध्यक्ष ओलीले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुसरण गर्न सक्ने बताउनुभयो । 

उहाँले शहीदहरूले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि भएको बताउनुभयो ।

अध्यक्ष ओलीले देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा एमाले अघि बढिरहेको पनि बताउनुभयो ।  उहाँले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई  मुक्त गर्दै  पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ नेकपा (एमाले)ले अग्रसरता लिएको सन्देशमार्फत उल्लेख गर्नुभयो । 

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहन्छ भन्नुहुँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्नुपर्ने बताउनुभयो । 

जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउनुपर्छ भन्नुहुँदै उहाँले यसका लागि लोकतान्त्रिक अभ्यास व्यक्ति र समूहहरूका निजी दुराकाङ्क्षाको पूर्तिमा आधारित नभएर सुस्थिर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले अमर शहीदहरूको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही भएको उल्लेख गर्नुभयो । 

उहाँले शहीद दिवसका अवसरमा समाज र राष्ट्रको हितमा निस्वार्थ रूपमा सक्रिय हुँदैअघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गर्नुभएको छ । 

जहानियाँ राणा शासन विरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा नेपाल आमाका वीर सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रूपमा मनाउने गरेका छौँ र, सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो । त्यसयता जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदहरूको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेका छौँ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २० बजे