सुनको मूल्यमा नयाँ कीर्तिमान

पूर्व मन्त्री बस्नेतले स्व आचार्यको छोराछोरीलाई पढाइदिने

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गर्नुभएको छ । 

नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले शनिवार  स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताउनुभएको हो ।

भेटमा पूर्व मन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताउनुभयो । “स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ”, पूर्व मन्त्री बस्नेतले भन्नुभयो ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधवार बिहान मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : २५ बजे