आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपति निर्वाचनका लागि कांग्रेस सहितको राष्ट्रिय सहमति आवश्यक छ : डाक्टर भट्टराई

गोरखा ।   पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्। 

पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ। 

‘यही शासकीय स्वरूप र निर्वाचन प्रणाली कायम रहँदासम्म कुनै व्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन’, उनले भने, ‘साथै यो पद्धतिले देशमा स्थिरताको संकेत पनि गर्दैन। त्यसैले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु नै उचित हुन्छ।’ 

समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। ‘दलहरूको सहमतिबिना स्थिरता हुँदैन, आर्थिक संकटको समाधानले पनि राष्ट्रिय सहमति खोजेको छ’, उनले भने, ‘शान्ति सम्झौता, भू-राजनीतिक सन्तुलन लागयत सबै मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्। 

उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे। अविभावकीय भूमिकामा रहेको राष्ट्रपतिमा सबैको सहमति हुनुपर्ने भन्दै उनले कांग्रेस सहितको सहमति आवश्यक रहेको बताए। ‘सरकारमासमेत सबैको सहमति भएर पाँच वर्ष चलाउनुपर्छ’, उनले भने। 

गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीका विषयमा उनले अदालतको फैसला स्वीकार गरेर जानुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : ३० बजे